एक्लोबाट रेकर्ड ब्रेकको प्रेसर लिएको छैनः प्रदिप खड्का

...

काठमाडौँ । अंग्रेजी नयाँ बर्ष (पुस १७)बाट प्रदर्शनमा आएको चलचित्र ‘एक्लो १’ मा प्रदीप खड्काको मुख्य भूमिका छ भनेर प्रचार गरियो । अहिले दर्शकले प्रदिपको निकै छोटो भूमिका भयो भन्दै प्रतिक्रिया दिइरहेका छन् । चलचित्र प्रदर्शनपछि दिनहुँजसो प्रदिप अहिले हलहलमा दर्शक भेट्न र प्रतिक्रिया बुझ्न पुगिरहेका छन् । दर्शकले प्रदिपलाई निकै छोटो भयो भन्ने प्रतिक्रिया दिएपछि प्रदिपले माफी माग्दै एक्लो २ मा आफ्नो भूमिका पक्कै बढी हुनेछ भन्दै दर्शकलाई सम्झाएका छन् ।

‘म यो फिल्मका लागी सुरुमा केमियो भूमिका भनेरै इन्ट्री भएको हुँ, मलाई थाहा थियो मलाई दर्शकले यो किसिमको प्रतिक्रिया दिनुहुन्छ भनेर । तर केमियो भएपनि पछि फिल्मको प्रचारमा धेरै हिडियो त्यसैले पनि दर्शकले धेरै भूमिकाको अपेक्षा गर्नुभएको हो ।’ हलमा पुगेका प्रदीपले आर्टिष्ट खबरसँग कुरागर्दै भनेका छन् । ‘एक्लोको कथा लामो छ, दोस्रो सिक्वेलमा अवस्य पनि धेरै देख्न पाउनुहुनेछ ।’ यस्तै प्रदीपले सुपरस्टारको फिल्मले रेकर्ड ब्रेक गर्नुपर्ने होनि फिल्मले त राम्रो आम्दानी गर्न सकेन कि भन्ने प्रश्नमा उनले भनेका छन्, ‘मैले एक्लोबाट रेकर्ड ब्रेकको प्रेसर लिएको छैन, किनभने मैले काम गर्दा नै केमियो भूमिका र केहि फरक गरौं भनेरै गरेको हुँ । मलाई धेरैले फरक फिल्म कहिले गर्ने भन्ने प्रश्न गर्दै आउनुभएको थियो । अहिले फरक प्रयास गरिएको हो ।’

प्रदिप शाहीले निर्देशन गरेको एक्लो १मा प्रदीपसँगै कबिता नेपाली, बेनिशा हमाल, सुनिल थापा, बिजय लामा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।