काठमाडौं । महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘शिवांश’ ले दर्शकमाझ आफ्नो पहिलो झलक प्रस्तुत गरेको छ। निर्माणपक्षले बिहीबार युट्युबमार्फत चलचित्रको टिजर सार्वजनिक गरेको हो, जसले चलचित्रको कथावस्तु भन्दा बढी यसको भाव, दर्शन र रहस्यलाई उजागर गर्छ।
“सुरुआत नै अन्त्य हो र अन्त्य नै शिवांश” भन्ने गम्भीर संवादबाट सुरु हुने टिजर छोटो भए पनि प्रभावशाली छ। टिजरमा अभिनेता प्रवीण खतिवडा सन्तको भूमिकामा देखिएका छन्। हातमा त्रिशूल बोकेर मन्दिरअगाडि उभिएको दृश्यसँगै टिजर टुंगिन्छ, जसले दर्शकमा जिज्ञासा र कौतुहलता थप्छ।
ओजपूर्ण पृष्ठभूमि संगीत, गाढा रङ संयोजन, रहस्यमय दृश्य र गहिरा संवादले टिजरलाई आध्यात्मिक स्वाद दिएको छ। निर्माण टिमले चलचित्रको कथाबारे हालसम्म कुनै विवरण सार्वजनिक नगरेको र टिजरले पनि कथा पूर्ण रूपमा लुकाएकाले ‘शिवांश’ सस्पेन्स र प्रतीकात्मक कथामा आधारित हुने संकेत मिल्छ।
चलचित्र फागुन ३ गते, महाशिवरात्रिको दिन रिलिज हुने तय भएको छ। अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा बनेको यस चलचित्रको निर्देशन सन्तोष कुमार आत्रेयले गरेका छन्, जुन उनको निर्देशनतर्फको पहिलो प्रयास हो। चलचित्रका निर्माता अञ्जान केसी हुन्।
मुख्य भूमिकामा प्रवीण खतिवडासँगै तेज गिरी र रुषा न्यौपाने देखिनेछन्। साथै, विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौला, कुन्दनलगायत कलाकारको पनि अभिनय रहेको छ।
चलचित्रको कथा अञ्जान केसीकै लेखनमा तयार गरिएको हो भने स्क्रिनप्ले बारत लिम्बूले लेखेका छन्। सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन्।
गीतमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको शब्द रहनेछ। संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीकै रहेको छ। गीतमा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर सुन्न सकिनेछ।
प्राविधिक पक्षमा चलचित्र सबल देखिन्छ। द्वन्द्व निर्देशन मिलन श्रेष्ठ, कोरियोग्राफी विक्रम चोहान, डीओपी सरद महतो र कार्यकारी निर्माता सम्भू थापा रहेका छन्। भीएफएक्स निर्देशन तथा सुपरभिजन विराज खड्काले गरेका छन् भने भीएफएक्स प्रोड्युसर आदेश सुब्बा (गुडरेज पिक्चर्स) हुन्।
पोस्ट–प्रोडक्सन चलचित्र चौतारीमा गरिएको यस चलचित्रको वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन) ले गर्नेछ। ‘शिवांश’ ले अध्यात्म, रहस्य र प्रतीकात्मक कथनमार्फत नेपाली सिनेमा दर्शकलाई नयाँ अनुभूति दिने अपेक्षा गरिएको छ।






२५ पुष २०८२, शुक्रबार ०९:२६ 










