लोक स्वाद र युवा ऊर्जासहित ‘किन लाग्छ माया’को पहिलो गीत ‘धौले संसार’ सार्वजनिक

...

काठमाडौं । निर्माणाधीन नेपाली चलचित्रकिन लाग्छ मायाले आफ्नो प्रचारप्रसारलाई तीव्र बनाउँदै पहिलो गीत सार्वजनिक गरेको छ। पोस्टरपछि सार्वजनिक गरिएकोधौले संसारबोलको गीतले फिल्मको सांगीतिक र भावनात्मक धार स्पष्ट संकेत गरेको छ।

कुबेर तामाङको निर्देशनमा तयार भइरहेको चलचित्रको यो गीत लोक शैलीमा आधारित छ। मौलिक धुन, सरल शब्द र जीवन्त लयले सजिएको गीतले ग्रामीण परिवेश र पारिवारिक भावनालाई झल्काउने प्रयास गरेको देखिन्छ।

गीतमा पुष्कर सुनुवार, शान्तीश्री परियार र **गोपाल ढकालछन्दे’**को स्वर सुन्न सकिन्छ। डाक्टर अशाबहादुर तामाङको शब्द र पुष्कर सुनुवारकै संगीत रहेको गीतको अडियो पक्ष सुमधुर र कर्णप्रिय बनेको छ।

गीतको भिडियो पक्षलाई चर्चित कोरियोग्राफर रामजी लामिछानेले निर्देशन गरेका हुन्। भिडियोमा चलचित्रका मुख्य कलाकार सञ्जित भण्डारी, जाहान्वी बस्नेत, ऋचा थापा, मिस पबी र हिउवाला गौतमसँगै नवनायक स्याडो रियल, उत्तम केसी र सेजल सुवेदीको ऊर्जाशील नृत्य देख्न सकिन्छ। समूह नृत्य र फ्रेम कम्पोजिसनले गीतलाई आकर्षक बनाएको छ।

फिल्ममा राजेन्द्र खड्गी, रवि डंगोल, गोपाल ढकाल, सम्रान्त थापा, बेग पहारी, निरोज खुलाल, रामकाजी घिमिरे, सुभाष गजुरेल, रविन्द्र खड्का, सुनिल कटुवाल, विनोद ढकाल, अनु खत्री, सविन बास्तोला, गीता अधिकारीलगायत कलाकारहरूको अभिनय रहनेछ।

सञ्जित भण्डारी र मोनु खड्काको लगानीमा निर्माण भएको चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ। एक्सन निर्देशन राजेन्द्र खड्गी, डीओपी रामशरण उप्रेती र रामकुमार केसी, सम्पादन बनिष शाह र नविन चौधरीले गरेका छन्। पटकथा तथा संवाद रामकाजी घिमिरेको रहेको फिल्मको कथा र शब्द स्याडो रियलले लेखेका हुन्।

दाजुभाइबीचको सम्बन्ध, संघर्ष र भावनात्मक यात्रामा आधारित रहेकोकिन लाग्छ मायासन् २०२६ मा प्रदर्शनमा आउने तयारीमा छ। सार्वजनिक पहिलो गीतले दर्शकमाझ फिल्मप्रति सकारात्मक चासो जगाएको निर्माणपक्षको विश्वास छ।