काठमाडौँ । आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ८‘आ बाट आमा’८को लोकप्रिय गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहीबार ओएसआर युट्युब च्यानलमार्फत गीत रिलिज गरेको हो।
नेवारी भर्सनको गीतमा गायक तथा कलाकार यमन श्रेष्ठको स्वर रहेको छ। गीत सार्वजनिक भएलगत्तै युट्युबमा दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको निर्माण पक्षले जनाएको छ। यसअघि रवि ओडको स्वरमा आएको ओरिजिनल संस्करण पनि दर्शकमाझ निकै लोकप्रिय बनेको थियो।
बाबुल गिरीको शब्द–संगीत रहेको यस गीतलाई नेवारी भाषामा मदनकृष्ण श्रेष्ठले अनुवाद गरेका हुन्। निर्देशक चन्द्र पन्तले फिल्ममा नेपालीसँगै नेवारी भाषाको गीत समावेश गरिएको र दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको बताए।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त लगायत कलाकारको अभिनय रहेको छ। फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलसँग छ।







२६ पुष २०८२, शनिबार ०८:३४ 











