‘कुमारी’को कथा अब स्टेजमा पनि, देश दौडाहामा लाइभ कन्सर्ट हुने

...

काठमाडौं । प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’ले रिलिजअघि नै दर्शकसँग प्रत्यक्ष भेट्ने अनौठो बाटो रोजेको छ। चलचित्रका गीतलाई स्टेजमा जीवित बनाउँदै देशभरि लाइभ म्युजिकल कन्सर्ट टुर सञ्चालन हुने भएको हो, जसले फिल्म प्रचारलाई मात्र होइन, दर्शक–कलाकारको भावनात्मक सम्बन्धलाई पनि नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ नाम दिइएको यस यात्रामा चलचित्रका पार्श्व गायक केहर सिंह लिम्बु र उनको चर्चित ब्यान्ड ‘केहर एन्ड द लुङा’ मुख्य आकर्षण रहनेछन्। बिहीबार साँझ काठमाडौंमा आयोजित विशेष कार्यक्रममा ब्यान्डको प्रत्यक्ष प्रस्तुति बीच चलचित्रको ट्रेलर सार्वजनिक गर्दै कन्सर्ट टुरबारे जानकारी दिइयो।

बिग मार्टको प्रस्तुति र किङ्स हिल प्रिमियमको सहकार्यमा आयोजना हुने यो देशव्यापी टुरमा चलचित्रका प्रमुख कलाकार अभिषेक खड्का, आकृति राजभण्डारी र निर्देशक दिनेश राउत पनि सहभागी रहनेछन्। आयोजकका अनुसार यस टुरले ‘कुमारी’लाई केवल पर्दाको कथा नभई, सङ्गीत र भावनाको साझा उत्सवका रूपमा प्रस्तुत गर्नेछ।

लाइभ कन्सर्ट माघ १ गते नेपालगन्जबाट सुरु हुँदै माघ ३ गते पोखरा, माघ ६ गते चितवन, माघ ९ गते काठमाडौं र माघ १७ गते दमकमा सम्पन्न हुनेछ। काठमाडौंको भृकुटीमण्डपमा हुने कन्सर्टमा चलचित्रको आधिकारिक ट्रेलर विशेष रूपमा दर्शकमाझ ल्याइनेछ।

हाल ‘कुमारी’को गीत ‘डोको बुन्ने निगालो चोयाले’ लोकप्रियताको शिखरतर्फ उन्मुख छ। उक्त गीतमा केहर सिंह लिम्बुको स्वर, सागर लामिछाने मगर र सुमन तामाङको शब्द तथा सुमन तामाङ र केहर सिंह लिम्बुको सङ्गीत रहेको छ। कार्यक्रममा केहरले यही गीतसँगै ‘कता छौ मेरो फूल’ पनि प्रत्यक्ष प्रस्तुत गरे।

निर्देशक दिनेश राउतका अनुसार, ‘कुमारी’ प्रेम कथाभित्रको संवेदनशीलतालाई सङ्गीतमार्फत दर्शकसम्म पुर्‍याउने प्रयास हो। स्क्रिप्ट विकास सुवेदीले लेखेको चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन्। माघ २३ गते प्रदर्शनमा आउने तयारीमा रहेको ‘कुमारी’ ले यसअघि नै स्टेजबाट दर्शकको मन जित्ने संकेत देखाएको छ।