काठमाडौं । आउँदो माघ २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको लभस्टोरी फिल्म ‘कुमारी’को मुख्य भूमिकामा छन् अभिषेक खड्का र आकृति राजभण्डारी । उनीहरु नेपाली फिल्मीक्षेत्रका लागी नव कलाकार हुन् । निर्देशक दिनेश राउतले निर्देशन गरेको यो फिल्ममा उनीहरुको प्रेमकथा देख्न सकिनेछ । यसैबिच यि दुई कलाकार को हुन् त ? उनीहरुको परिचय थाहा पाउनुहोस् ।
को हुन् अभिषेक खड्का ?
कुमारी फिल्मको नायक हुन् अभिषेक खड्का, उनी नयाँ अभिनेता हुन् । उनले कलाकारितामा भविष्य देखेर प्रवेश गरेको ४ बर्ष भयो । उनी ४ बर्षअघि थिएटरबाट सुरु गरेका थिए । उनले गुरु अनुप बरालसँग अभिनय सिकेका हुन् । उनले यसअघि चलचित्रको कुरा गर्दा बेहुली फ्रम मेघौलीबाट डेब्यु गरेका हुन् । कुमारी उनको दोस्रो फिल्म हुनेछ । तर मुख्य अभिनेता बनेर काम गरेको कुमारी उनको पहिलो फिल्म हो । अर्को कुरा अभिषेकले ६ महिनाअघि सिकरुम भन्ने नाटकमा काम गरेका थिए । जुन नाटक निकै हिट पनि भएको थियो । त्यसबाट धेरै मेकरले अभिषेकको अभिनयकला देख्ने मौका पनि पाएका थिए । अहिले अभिषेकले नेपाल फिल्म क्याम्पसमा अभिनय पढिरहेका छन् । झापामा जन्मिएका अभिषेक उमेरले २१ बर्ष पुगेका छन् ।
को हुन् आकृति राजभण्डारी ?
कुमारी फिल्मकी नायिका हुन् आकृति राजभण्डारी । आकृतिको यो पहिलो फिल्म हो । यसअघि उनले एक गीतमा अभिनय गरेकी थिइन्, जुन गीत हो बार्दली । गायक शुसान्त केसी र इन्द्रकला राईको स्वरमा रहेको गीत बार्दलीमा आकृतिले अभिनय गरेपछि उनको चर्चा चुलिएको थियो । उनी धेरैको नजरमा परेकी थिइन् । त्यसपछि कुमारीका निर्देशक दिनेश राउतले फिल्ममा काम गराउने सोच बनाए र कुमारीमार्फत आकृतिले डेब्यु गर्दैछिन् । चितवनमा जन्मिएकी आकृति जम्मा २० बर्षकी छिन् ।







२६ पुष २०८२, शनिबार ११:१९ 











