कलाकार प्रशान्त तामाङको निधन

...

काठमाडौं । नेपाली फिल्मगोर्खा पल्टनतथापरदेशीका नायक एवम् इन्डियन आइडल विजेता गायक प्रशान्त तामाङको निधन भएको छ । उनको आज आइतबार दिल्लीस्थित आफ्नै अपार्टमेन्टमा हृदयघातका कारण निधन भएको बताइएको छ । निधनको खबरले नेपाली र भारतीय मनोरञ्जन क्षेत्र शोकमा डुबेको छ । उनी ४३ वर्षका थिए ।

प्रशान्त तामाङ नेपाली फिल्म क्षेत्रका चर्चित कलाकारमध्ये एक हुन् । उनले नारायण रायमाझीको निर्देशनमा बनेको सुपरहिट फिल्मगोर्खा पल्टन २मा अभिनय गरेका थिए, जसले उनलाई नेपाली दर्शकमाझ थप लोकप्रिय बनाएको थियो । यसअघि उनले नेपाली फिल्मगोर्खा पल्टनमार्फत अभिनयमा डेब्यू गरेका थिए । अभिनयसँगै गायनमा समेत सक्रिय उनलेहिम्मत २फिल्मबाट पहिलोपटक नेपाली फिल्ममा पार्श्वगायन गरेका थिए ।

उनको अभिनय रहेका चर्चित नेपाली फिल्महरूमाअँगालो मायाको’, ‘किन मायामा’, ‘धड्कन भित्र’, ‘निशानी’, ‘परदेशीभाग १ र २ रहेका छन् । यस्तै, ‘दिल’, ‘अनमोल छन्हिम्मत २मा उनले पार्श्वगायनमार्फत पनि दर्शकको मन जितेका थिए । अभिनय र गायन दुवै क्षेत्रमा समान रूपमा सफल प्रशान्त नेपाली फिल्म उद्योगका बहुप्रतिभाशाली कलाकारका रूपमा चिनिन्थे ।

नेपाली फिल्मसँगै उनले बलिउडमा पनि कदम राखेका थिए । सलमान खान स्टारर फिल्मब्याटल अफ गलवानबाट उनले बलिउड डेब्यू गरेका थिए । उक्त फिल्मको छायांकन पूरा भइसकेको थियो र उनी डबिङको तयारीमा थिए । उनको असामयिक निधनले उक्त फिल्मसँग सम्बन्धित टिमलाई पनि स्तब्ध बनाएको छ ।

भारतको दार्जिलिङमा जन्मिएका प्रशान्त तामाङले जीवनको सुरुवाती चरणमा कोलकाता प्रहरीमा जागिर समेत खाएका थिए । तर संगीतप्रतिको मोहले उनलाई इन्डियन आइडलको मञ्चसम्म पुर्‍यायो, जहाँबाट उनले अन्तर्राष्ट्रिय स्तरमै पहिचान बनाए । सन् २००७ मा उनको डेब्यू एल्बमधन्यवादरिलिज भएको थियो । एल्बमका गीतहरूसँगैवीर गोर्खालीअसारे महिनामाजस्ता गीतहरू उनका अत्यन्त चर्चित र लोकप्रिय कृति हुन् ।

व्यक्तिगत जीवनतर्फ, प्रशान्तले सन् २०११ मा एयर होस्टेस गीता थापासँग विवाह गरेका थिए । उनीहरूका एक छोरी छन् । पारिवारिक र व्यावसायिक जीवनलाई सन्तुलनमा राख्दै अघि बढिरहेका प्रशान्तको निधनले परिवारजन, शुभेच्छुक, कलाकार तथा फ्यानहरूलाई गहिरो पीडा दिएको छ ।

प्रशान्त तामाङको असामयिक निधनसँगै नेपाली फिल्म र संगीत क्षेत्रले एक प्रतिभाशाली कलाकार गुमाएको छ । उनका गीत, फिल्म र योगदान सधैं दर्शकको सम्झनामा जीवित रहनेछन् । नेपाली मनोरञ्जन उद्योगले एक समर्पित, अनुशासित र बहुआयामिक कलाकारलाई अन्तिम बिदाइ दिएको छ ।