काठमाडौं । नेवार समुदायका बालिकाहरूको प्रतिभा उजागर गर्ने उद्देश्यसहित आयोजित मिस लिटिल नेवा–१५औँ संस्करण अन्तर्गत शनिबार राजधानीमा ट्यालेन्ट शो सम्पन्न भएको छ। गौशालास्थित होटल पौवामा आयोजित कार्यक्रममा ९ देखि १३ वर्ष उमेर समूहका २० प्रतिस्पर्धी बालिकाले आ–आफ्ना विविध प्रतिभा प्रस्तुत गरे।
प्रतिस्पर्धीहरूले नृत्य, स्केटिङ, जिम्नास्टिक, चित्रकला, भ्वाइलीन र धिमे वादन, चर्या नृत्य, कुमारी तथा बज्रयोगिनी नृत्य, स्केच लगायतका प्रस्तुति दिएका थिए। कार्यक्रममा अधिकांशले नेवारी गीतमा आधारित नृत्य प्रस्तुत गर्दै निर्णायक र दर्शकको ध्यान ताने।
ट्यालेन्ट शोमा अधिवक्ता लक्ष्यमान महर्जन, नेवारी फिल्म अभिनेत्री हिसिला महर्जन, बाँसुरीवादक सचिन महर्जन, नेवार भाषा प्रशिक्षक राजु नापितलगायत विभिन्न क्षेत्रका व्यक्तित्व निर्णायकको रूपमा रहेका थिए। कार्यक्रम नेप्लिज फेसन होम तथा फाइट फर लाइफ नेपालको आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रमअन्तर्गत सहभागीहरूको हेयर तथा स्किन टेस्ट समेत गरिएको थियो। प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी माघ ५ गते राजधानीमै आयोजना हुने जनाइएको छ।







२७ पुष २०८२, आईतवार १८:४० 











