काठमाडौँ । प्रदर्शन मिति नजिकिँदै जाँदा चलचित्र ‘बिगुल’ को प्रचारप्रसार तीव्र बनेको छ। ९ माघबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्मले पूर्वी नेपालमा आयोजना गरेको दर्शक साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ। निर्देशक रमेश कोइराला र निर्माता तथा कथाकार दिनेश कोइराला ले विराटनगर, इटहरी, धरान, दमक, बिर्तामोड हुँदै हेटौडा र चितवनसम्म पुगेर दर्शकमाझ प्रत्यक्ष भेटघाट गरेका थिए।
मोफसल दौडासँगै निर्माण टिमले फिल्ममा समावेश लोकभाकाको गीत ‘बनको कोइली बनैमा रमायो’ सार्वजनिक गरेको छ। गीतमा यशराज गचर र ऋचा थापा फिचर्ड छन् भने स्वर मनिष चौधरी र शान्तिश्री परियारको रहेको छ। शब्द, संगीत मनोज चौलागाईंको तथा कोरियोग्राफी कमल राईको छ।
समसामयिक राजनीति, सामाजिक न्याय, हकअधिकार र पारिवारिक दायित्वको कथामा आधारित ‘बिगुल’मा बेनीशा हमाल, नरेन खड्का, नीर शाह, सरोज खनाल, शिशिर वाङ्देल, रविन्द्र खड्कालगायत कलाकारको अभिनय रहेको छ। म्याग्नोलिया ग्रुपको ब्यानरमा बनेको फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन्। पूर्वी नेपालपछि निर्माण टिम अब मध्य तथा पश्चिम नेपालमा प्रचार अभियानमा निस्किने तयारीमा रहेको जनाएको छ।







२७ पुष २०८२, आईतवार १८:४४ 











