काठमाडौं । नेपाली रैथाने तथा नेवारी संगीतको प्रवर्द्धन गर्दै आएको म्युजिकल ब्यान्ड ‘कुटुम्ब’ ले काठमाडौंमा भव्य लाइभ म्युजिक प्रस्तुत गरेको छ। शनिबार साँझ बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेल कौडोलस्थित ‘२९ रिसोर्ट एन्ड फार्म हाउस’ मा आयोजित कार्यक्रममा कुटुम्बले साँझ ५ बजेदेखि राति ९ बजेसम्म सांगीतिक प्रस्तुति दिएको हो।
कार्यक्रममा कुटुम्बले नेवारी गीतसंगीतसँगै मौलिक तथा चर्चित रैथाने धुनहरू प्रस्तुत गर्यो। आफ्नै मौलिक धुनमा लोकप्रिय गीतका टुक्रा मिसाएर प्रस्तुत गर्दा दर्शकहरू उत्साहित देखिएका थिए। ब्यान्ड सदस्यहरूले प्रस्तुत गरिएका धुन र तिनको सांस्कृतिक महत्वबारे व्याख्या गर्दै प्रस्तुति दिँदा नेवारी तथा रैथाने संगीतको प्रवर्द्धन पनि सँगसँगै भएको थियो।
कार्यक्रमकै क्रममा ब्यान्ड सदस्यहरूले काठमाडौंभित्रै शान्त र सुन्दर गन्तव्यका रूपमा ‘२९ रिसोर्ट एन्ड फार्म हाउस’ को विशेषता उल्लेख गर्दा दर्शकले तालीसाथ समर्थन जनाए। रिसोर्टका सञ्चालक दिमेश श्रेष्ठ ले नेपाली मौलिक संगीतलाई कर्पोरेट क्षेत्रसँग जोड्दै प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
कन्सर्टको टिकट मूल्य ५०० रुपैयाँ तोकिएको थियो। करिब चार करोड रुपैयाँको लगानी मा दिमेश श्रेष्ठ, किरण श्रेष्ठ, सुशान्त श्रेष्ठ र कुमार श्रेष्ठले सञ्चालनमा ल्याएको २९ रिसोर्ट एन्ड फार्म हाउस गत वर्षदेखि सेवा सञ्चालनमा रहेको छ।







२७ पुष २०८२, आईतवार १८:४८ 











