काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री वर्षा राउतले हिन्दी फिचर फिल्म ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी सिनेमा डेब्यु गर्ने भएकी छन्। उनले हालै काठमाडौंमा निर्माण पक्षसँग मुख्य भूमिकाका लागि सम्झौता गरेकी हुन्।
सन् २०१६ मा ‘नाइँ नभन्नु ल ४’ बाट अभिनय यात्रा सुरु गरेकी वर्षाले ‘छक्का पन्जा’, ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘दाल भात तरकारी’ जस्ता सफल चलचित्रमार्फत नेपाली रजतपटमा बलियो पहिचान बनाइसकेकी छन्। ‘रिमझिम गिरे सावन’ वर्षाको विदेशी भाषाको पहिलो मुख्य भूमिका हो, जससँगै उनी अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कलाकारको प्रतिनिधित्व गर्दै अघि बढ्नेछिन्।
उत्तरी सिक्किमको लाचुङ क्षेत्रको रमणीय तर दुर्गम पहाडी भूभागमा आधारित यो सामाजिक ड्रामामा वर्षाले मृत्युदण्डको सजाय भोगिरहेकी विवाहित महिला तथा एक सन्तानकी आमा ‘रिमझिम क्षेत्री’को भूमिका निर्वाह गर्नेछिन्। चलचित्रले प्रणालीगत भ्रष्टाचार, न्याय र मर्यादाका लागि महिलाले गर्ने साहसी सङ्घर्षलाई चित्रण गर्ने निर्देशक अर्नब पलले बताएका छन्।
बङ्गाली चलचित्र उद्योगका बहुआयामिक निर्देशक अर्नब पलले यस फिल्मको निर्देशन गरिरहेका छन्। उनले यसअघि ‘तान्त्रिक’, ‘मेघमल्लार’ निर्देशन गरिसकेका छन् भने *‘वृष्टि तोमाके दिलाम’*बाट नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट निर्देशकको अवार्ड जितिसकेका छन्। सान्टियागो इन्टरनेशनल ग्लोबल फिल्म अवार्ड्ससहित विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा समेत उनी सम्मानित भइसकेका छन्।
फिल्ममा बलिउडका स्थापित कलाकार सुब्रत दत्त, राजेश शर्मा, आशिष् विद्यार्थी र यशपाल शर्माको मुख्य भूमिका रहनेछ। रिमझिमकी दिदी ‘रुन्झुन’को भूमिकामा कोलकाताकी अभिनेत्री सुस्मिता बसुमता देखिनेछिन् भने ‘सावन’को भूमिकाका लागि एक चर्चित बलिउड अभिनेताको छनोट प्रक्रिया जारी रहेको निर्माण पक्षले जनाएको छ।
नयाँ यात्राप्रति उत्साहित वर्षाले कठिन भौगोलिक परिवेशमा हुने छायाङ्कन चुनौतीपूर्ण भए पनि यो आफूलाई थप निखार्ने अवसर भएको बताएकी छन्। निर्देशक पलले हिन्दी बोल्ने तर नेपाली लवज आवश्यक भएकाले उत्कृष्ट अभिनय क्षमताका कारण वर्षाको छनोट गरिएको जनाउँदै उनलाई मनीषा कोइरालापछिको हिन्दी सिनेमामा सशक्त नेतृत्वदायी भूमिका निभाउने नेपाली अभिनेत्रीका रूपमा चित्रण गरेका छन्।
चलचित्रको पटकथा भेट्रान लेखक राकेश कुमार त्रिपाठीले तयार पारेका हुन्। प्राविधिक टिममा डिओपी असिम बोस, सम्पादक अर्घ्य कमल मित्र र कला निर्देशक अतनु साहाजस्ता भारतीय राष्ट्रिय पुरस्कार विजेता छन्। नाङ एनी गोगोई लाइन प्रोड्युसर तथा कस्ट्युम डिजाइनरका रूपमा छन् भने नेपालतर्फबाट रामगोपाल तिमल्सिना र नृपेश रुपाखेती प्रोडक्सन म्यानेजर रहेका छन्।







२८ पुष २०८२, सोमबार ११:५५ 











