मदनकृष्ण श्रेष्ठले सार्वजनिक गरे यम बरालका तीन नयाँ गीत

...

काठमाडौं । गायक यम बरालको स्वरमा रहेका तीन वटा नयाँ गीत सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा ‘यो साँझ फेरी’, ‘जुन र सुनको’ र ‘टेण्डर माया’ एकसाथ सार्वजनिक गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गीत तथा भिडियो सार्वजनिक गरेका थिए। कार्यक्रममा वरिष्ठ संगीतकार तथा प्राध्यापक दीपक जंगम, कलाकार तथा निर्देशक दीपाश्री निरौला, वरिष्ठ पत्रकार ऋषी धमला लगायतको उपस्थिति थियो।

सार्वजनिक गीतमध्ये ‘यो साँझ फेरी’ मा राखी गौचनको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको छ। केशव राज भट्ट निर्देशित भिडियोमा जुना कार्की र यम बरालको अभिनय छ। ‘जुन र सुनको’ मा सञ्जय बरालको शब्द र विकास चौधरीको संगीत रहेको छ भने भिडियोको निर्देशन स्वयं गीतकार बरालले गरेका छन्। यस्तै ‘टेण्डर माया’ मा पनि सञ्जय बरालकै शब्द र विकास चौधरीको संगीत रहेको छ, जसको भिडियो नितिन चन्दले निर्देशन गरेका हुन्।

कार्यक्रममा बोल्दै गायक बरालले लामो समयपछि आफू मूलधारको संगीतमा फर्किएको बताए। ३५ वर्षदेखि संगीतमा निरन्तर सक्रिय रहँदै आएका उनले साधनामा विश्वास गर्ने कलाकार भएको उल्लेख गरे। प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले यम बराल आफ्नो मन पर्ने गायकमध्ये एक भएको भन्दै उनको स्वरको प्रशंसा गरे।

कार्यक्रममा गीत–संगीत क्षेत्रका सर्जक, कलाकार तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।