काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’ सार्वजनिक गरिएको छ । निर्माण पक्षले सोमबार युट्युब च्यानल ‘मौरी पिक्चर्स’मार्फत गीत सार्वजनिक गरेको हो ।
सितुस्मा अधिकारीको शब्द, एसडी योगीको संगीत र सलिना बिकेको स्वर रहेको गीतमा अधुरो सपना, टुटेको विश्वास र प्रेममा भोगिएको पीडालाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरिएको छ । वाचा गरेर पूरा नगरी टाढिनेहरूको कथामार्फत सपना चकनाचुर हुँदा हुने पीडा र छटपटि गीतमा सुन्न सकिन्छ ।
गीतको भिडियोमा आयुशमान देशराज जोशी, बेनिशा हमाल, अर्पण थापा र सृष्टि श्रेष्ठको अभिनय देख्न सकिन्छ । वियोगान्त भावले भरिएको गीतले चलचित्रको कथावस्तुलाई संकेत गर्दै प्रेमलाई गहिराइमा बुझ्ने र त्यसलाई खेलवाड ठान्नेबीचको अन्तर उजागर गरेको छ ।
साइकोलोजिकल थ्रिलर जनरामा बनेको ‘द ब्ल्यू लाइट’मा बेनिशा, अर्पण, आयुशमान, सृष्टिसँगै महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।
बलिराम चौहानको निर्देशन रहेको चलचित्र माघ १६ गते रिलिज हुने तयारीमा छ । स्काइफल पिक्चर्सको प्रस्तुति रहेको यस चलचित्रमा भोलानाथ कटुवाल र रमन ग्रे सह–निर्माता तथा नरेन्द्र मैनाली र बेनिशा हमाल कार्यकारी निर्माता रहेका छन् ।







२८ पुष २०८२, सोमबार २१:०५ 











