काठमाडौँ । चलचित्र ‘मिरमिरे’को सार्वजनिक ट्रेलरमा अभिनेता दयाहाङ राईसँगै देखिएकी बाल कलाकार शाइसा गौचनले दर्शकको ध्यान खिचेकी छन्। दयाहाङकी छोरीको भूमिकामा देखिएकी शाइसा आमाको अभाव महसुस गरिरहेकी पात्रको रूपमा प्रस्तुत भएकी छन्।
सानैमा आमाले छोडेपछि बुवाको लालनपालनमा हुर्केकी छोरीको भावनात्मक कथालाई शाइसाले सशक्त अभिनयमार्फत उतारेकी छन्। ट्रेलरमा देखिएको उनको अभिनयलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। खराकी शाइसाका लागि ‘मिरमिरे’ पहिलो चलचित्र भने होइन। यसअघि उनले ‘महाभोज’ र ‘बरिष्ठ बलराम’मा छोटो भूमिका निभाइसकेकी छन्। लेखक तथा निर्देशक यम शेर्पाले दयाहाङ राईसँग अघिल्ला फिल्ममा सहकार्य भएकाले शाइसालाई काम गर्न सहज भएको बताउँदै उनको अभिनय सबै उमेर समूहका दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन्।
यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको ‘मिरमिरे’ माघ १ गतेदेखि प्रदर्शनमा आउँदै छ। यार्सा फिल्मसको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु लगायत कलाकारहरूको अभिनय रहेको छ।







२९ पुष २०८२, मंगलवार १६:१३ 











