‘गोबर गणेश’ लाई सेन्सर बोर्डको ग्रीन सिग्नल, माघे संक्रान्तिबाट प्रदर्शनमा

...

काठमाडौँ । चर्चामा रहेको नेपाली चलचित्र ‘गोबर गणेश’ ले सेन्सर बोर्डबाट ‘ग्रीन सिग्नल’ पाएको छ। केन्द्रीय चलचित्र जाँच समितिले चलचित्रलाई ‘यू’ ९युनिभर्सल० सर्टिफिकेट प्रदान गरेसँगै अब यो फिल्म माघ १ गते अर्थात् माघे संक्रान्तिबाट देशभर प्रदर्शनमा आउने भएको छ।

हाँस्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को निर्देशन तथा मुख्य अभिनय रहेको ‘गोबर गणेश’ सबै उमेर समूहका दर्शकले परिवारसँगै हेर्न सक्ने चलचित्र बनेको छ। पढाइमा कमजोर एक गाउँले युवक काठमाडौं आएपछि जीवन बदल्न गरेको संघर्षको कथामा फिल्म आधारित रहेको छ।

पोस्टर, ट्रेलर र गीतमार्फत राम्रो चर्चा बटुलिरहेको फिल्म सेन्सर बोर्डबाट सकारात्मक प्रतिक्रिया पाएपछि निर्माण टिम उत्साहित देखिएको छ। निर्देशक मरिचमान श्रेष्ठले बोर्डका सदस्यहरूले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएको बताएका छन्।

बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा बनेको चलचित्रमा वर्षा शिवाकोटी, विनोद न्यौपाने, बुद्धि तामाङ, माओत्से गुरुङलगायत कलाकारहरूको अभिनय रहेको छ। ‘गोबर गणेश’लाई नेपालभर श्री ब्याकटेस इन्टरटेनमेन्टले वितरण गर्दैछ।