काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा एकैसाथ वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले वार्षिकोत्सवका अवसरमा घोषणा गरेका १९ वटा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
पौष १८ गतेदेखि स्थापनाको १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको बैंकले कोशी, मधेश, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सम्पन्न कार्यक्रममा ५५८ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रमबाट संकलित रगत गरिब, विपन्न तथा न्यून आय भएका व्यक्तिलाई प्राथमिकतामा राखी वितरण गरिने बैंकले जनाएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रम निरन्तर गर्दै आएको बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट सम्मानित हुँदै आएको छ ।
ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । हाल बैंकका ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । साथै, विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स सेवा सञ्चालन गर्दै बैंकले नेपालको आर्थिक समृद्धिमा योगदान पुर्याउँदै आएको छ ।







२९ पुष २०८२, मंगलवार १७:५७ 











