काठमाडौं । लामो समयदेखि चलचित्र वितरणमा सक्रिय रोहित कट्टेल अब निर्माण क्षेत्रमा पनि प्रवेश गरेका छन्। आरआर फिल्म्सका सञ्चालकसमेत रहेका कट्टेल चलचित्र ‘मिरमिरे’ मार्फत पहिलोपटक कार्यकारी निर्माताका रूपमा जोडिएका हुन्।
चलचित्र वितरण गर्दै आएका कट्टेललाई निर्माणतर्फ आकर्षित गराउने मुख्य कारण भने कथावस्तु बनेको छ। निर्देशक यम शेर्पाले सुनाएको बाबु–छोरीबीचको भावनात्मक कथाले आफूलाई गहिरो रूपमा छोएकाले लगानी गर्ने निर्णय गरेको उनी बताउँछन्। “यो कथा कुनै एक परिवारको मात्र होइन, धेरै नेपालीले भोगेको घरघरको कथा हो,” कट्टेल भन्छन्।
राम्रो कथा र सशक्त प्रस्तुति भए चलचित्र निर्माणमा सहकार्य गर्न सधैँ तयार रहेको उनले बताए। वितरण वा निर्माण जुनसुकै माध्यमबाट भए पनि गुणस्तरीय नेपाली सिनेमा दर्शकमाझ ल्याउनु आफ्नो दायित्व भएको उनको धारणा छ। यम शेर्पाको लेखन तथा निर्देशन रहेको ‘मिरमिरे’ माघ १ गतेबाट प्रदर्शनमा आउँदै छ। यार्सा फिल्म्सको प्रस्तुति रहेको यस चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङलगायत कलाकारको अभिनय रहेको छ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’ का सह–निर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर छन्। चलचित्रको देशभर वितरणको जिम्मेवारी पनि रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।







३० पुष २०८२, बुधबार १२:२८ 











