काठमाडौँ । चलचित्र ‘बिगुल’ पूर्वनिर्धारित मिति माघ ९ मा प्रदर्शन नहुने भएको छ । निर्माता दिनेश कोइरालाका अनुसार विशेष प्राविधिक कारणले चलचित्रको प्रदर्शन हाललाई स्थगित गरिएको हो । दर्शकप्रति क्षमायाचना गर्दै उनले केही दिनभित्रै नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने जानकारी दिएका छन् ।
रमेश कोइरालाको निर्देशनमा बनेको चलचित्रमा बेनीशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, विनोद न्यौपाने, शिशिर बाँग्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रविन्द्र खड्का तथा नव–अभिनेत्री मीरा पण्डित मुख्य भूमिकामा छन् ।
देशको वर्तमान राजनीतिक अवस्था र आम नेपालीको जनभावनासँग मेल खाने विषयवस्तुका कारण गीत, टिजर र ट्रेलरले दर्शकको ध्यान खिचिरहेको अवस्थामा प्रदर्शन स्थगित गर्नु परेकामा निर्देशक कोइरालाले पनि दुःख व्यक्त गरेका छन् । उनले दर्शकको प्रतिक्षामा रहेको चलचित्र अझ भव्य रूपमा प्रदर्शन गरिने प्रतिबद्धता जनाएका छन् ।
‘बिगुल’ काफिया फिल्म्स र श्री ब्राकेट्स इन्टरटेन्मेन्टको वितरणमा आउनेछ । चलचित्रमा शिव ढकालको छायांकन, एनबी महर्जनको द्वन्द्व निर्देशन र तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ । गीतमा विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत छ । निर्माता दिनेश कोइरालाको कथामा बनेको चलचित्रको पटकथा तथा संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् ।







४ माघ २०८२, आईतवार १२:१९ 











