पोखरा । माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतीक्षित नेपाली चलचित्र ‘कुमारी’ को प्रवर्द्धनका लागि पोखरामा आयोजना गरिएको ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ भव्य रूपमा सम्पन्न भएको छ । शनिबार साँझ हल्लनचोकमा आयोजित कन्सर्टमा करिब ७ हजार दर्शकको उत्साहजनक सहभागिता देखिएको थियो ।
नेपालगन्जबाट सुरु भएको देशव्यापी साङ्गीतिक यात्राको दोस्रो गन्तव्य पोखरामा चलचित्रका प्रमुख कलाकारहरू अबिशेक खड्का र आकृति राजभण्डारी स्टेजमा देखिँदा दर्शकले हुटिङमार्फत स्वागत गरेका थिए । चर्चित गीत ‘डोको बुन्ने निगाली चोयाले’ मा उनीहरूको प्रत्यक्ष नृत्य प्रस्तुतिले कन्सर्टको माहौल थप रोमाञ्चक बनेको थियो । कलाकारद्वयले पोखरेली दर्शकको मायाप्रति आभार व्यक्त गर्दै माघ २३ गतेदेखि देशभर प्रदर्शनमा आउने चलचित्र हेर्न आग्रह गरे ।

कन्सर्टमा पार्श्व गायक केहर सिं लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ ले चलचित्रका गीतहरू ‘डोको बुन्ने‘’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ प्रस्तुत गर्नुका साथै आफ्ना चर्चित गीत ‘सरर’ र ‘बैगुनी’ पनि गाएका थिए । सबै गीतमा स्वर दिएका केहर र उनको ब्यान्डको प्रस्तुतिमा दर्शकहरू उत्साहका साथ झुमेका देखिन्थे ।
पोखरेली दर्शकको क्रेजले आफू निकै पुलकित भएको निर्देशक दिनेश राउतले बताए । स्टेजबाटै दर्शकलाई धन्यवाद दिँदै उनले दर्शकको साथले चलचित्रप्रति थप उत्साह बढाएको उल्लेख गरे । विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीद्वारा निर्मित चलचित्रको टोली अब माघ ६ गते चितवन, १० गते काठमाडौँ र १७ गते झापाको दमकमा प्रस्तुति दिनेछ । माघ १० गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने विशेष कन्सर्टमा चलचित्रको आधिकारिक ट्रेलर सार्वजनिक गर्ने तयारी समेत निर्माण पक्षले गरेको छ ।








४ माघ २०८२, आईतवार १२:२६ 











