‘शिवांश’को गीत ‘बैंश भुसुक्कै’ सार्वजनिक

...

काठमाडौं । चलचित्रशिवांश’को गीतबैंश भुसुक्कैसार्वजनिक गरिएको छ । निर्माण पक्षले आज युट्युबमार्फत गीत रिलिज गरेको हो । लोकलयमा आधारित प्रेमिल गीतमा राजनराज शिवाकोटी र समीक्षा अधिकारीको स्वर रहेको छ । राजनराज शिवाकोटी र सरोज रञ्जितकारको शब्द रहेको गीतमा संगीत पनि राजनराजकै छ । गाउँबेसीको मिठास झल्किने टिपिकल नेपाली शब्द र लयले गीतलाई क्याची बनाएको छ, जहाँ प्रेमीप्रेमिकाबीचको माया, आकर्षण र तारिफ प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा विक्रम चौहानको कोरियोग्राफी रहेको छ भने मुख्य कलाकार तेज गिरी, बिमला लिम्बू र बारत लिम्बूको अभिनय देख्न सकिन्छ । भिजुअल पक्षमा निर्माण टोलीले विशेष मेहनत गरेको देखिन्छ ।

महाशिवरात्रिको अवसर पारेर चलचित्र फागुन १ गते प्रदर्शनमा आउने तयारीमा छ । अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रको निर्देशन सन्तोष कुमार आत्रेयले गरेका हुन्, यो उनको डेब्यु निर्देशकीय सिनेमा हो । निर्मातामा अञ्जान केसी रहेका छन् ।

चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा छन् । साथै विकास जोशी, बिमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चौराउटे, उदय कुमार सुब्बा, टीका निरौला लगायत कलाकारको पनि अभिनय रहनेछ । चलचित्रको कथा अञ्जान केसीले लेखेका हुन् भने वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन) ले गर्नेछ ।