काठमाडौं । निर्देशक सुदीप भुपाल सिंह निर्देशित सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार सार्वजनिक गरिएको एक आकर्षक पोस्टरसँगै सिनेमा आगामी फागुन १ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउने जानकारी दिइएको हो ।
सार्वजनिक स्केच पेन्टिङ पोस्टरमा सिनेमाका सम्पूर्ण मुख्य कलाकारलाई समेटिएको छ । पोस्टरले सिनेमाप्रति दर्शकको चासो बढाउने विश्वास निर्माण पक्षले लिएको छ । विशुद्ध पारिवारिक तथा मनोरञ्जनात्मक कथावस्तुमा आधारित ‘श्री बुकुरो’का यसअघि सार्वजनिक टिजर तथा पोस्टरले दर्शकको सकारात्मक प्रतिक्रिया पाइसकेका छन् ।
यस सिनेमाबाट निर्देशक सुदीप भुपाल सिंह सात वर्षपछि निर्देशनमा फर्किएका हुन् । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’ जस्ता सिनेमा निर्देशन गरेका थिए । पछिल्लो समय सामाजिक–पारिवारिक सिनेमाप्रति दर्शकको आकर्षण बढिरहेको अवस्थामा ‘श्री बुकुरो’को कथाले पनि दर्शकको मन जित्ने विश्वास निर्देशक सिंहले व्यक्त गरेका छन् । सिनेमा हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेकाले प्रचारको सुरुवातस्वरूप पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो ।
फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको यस सिनेमामा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको अभिनय रहेको छ । निर्देशक सिंह स्वयंको लेखन रहेको सिनेमालाई रुबी सेन सिंहले निर्माण गरेकी हुन् ।
सिनेमामा सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर, बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन रहेको छ । सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन रहेको यो सिनेमा मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको हो ।
सिनेमाका गीतमा रञ्जीत गजमेर, बसन्त सापकोटा र विक्रम कार्कीको संगीत रहेको छ भने शिव परियार, विशेष पौडेल, युक्ति बिमली, सविन सुवेदी र सन्देश पौडेलको स्वर सुन्न सकिन्छ ।







५ माघ २०८२, सोमबार २०:५४ 










