काठमाडौँ । चलचित्र विकास बोर्डको सहकार्य र कलेज अफ मास कम्युनिकेशन तथा बिलक्षण क्रियशनको संयुक्त आयोजनामा सम्पन्न १४औँ नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेष्टिवल (NFAIFF) मा चलचित्र ‘अञ्जिला’ र इजिप्टको ‘द मंकी’ सर्वोत्कृष्ट घोषित भएका छन्।
नेपाल पानोरामा अन्तर्गत अभिनेता नीर शाह र अभिनेत्री सुरक्षा पन्त क्रमशः चलचित्र ‘परान’ र ‘कोशेढुङ्गा’बाट उत्कृष्ट अभिनेता–अभिनेत्री बने। सोमबार साँझ चलचित्र विकास बोर्डमा सम्पन्न समापन समारोहमा नेशनल पानोरामा २० र इन्टरनेशनल पानोरामा ६ गरी कुल २६ विधामा अवार्ड प्रदान गरियो।
नेपाल पानोरामामा ‘अञ्जिला’ले उत्कृष्ट चलचित्रसहित चार विधामा अवार्ड जित्यो। यसै चलचित्रबाट मिलन चाम्स उत्कृष्ट निर्देशक, मञ्जु श्रेष्ठ उत्कृष्ट सह–अभिनेत्री र थानेश्वर गौतम ‘रात किन हुन्छ’ गीतबाट उत्कृष्ट संगीतकार बने। ‘कोशेढुङ्गा’ले चार र ‘परान’ले तीन विधामा अवार्ड प्राप्त गरे।

इन्टरनेशनल पानोरामातर्फ बेष्ट अफ्रिकन फिल्मको अवार्ड इजिप्टको ‘द मंकी’ले जित्यो। बेष्ट इन्टरनेशनल फिचर बंगलादेशको ‘मेमोरिज अफ ग्लोमी मनसुन’, सर्ट फिल्म भारतको ‘ब्ल्यू’ र डकुमेन्ट्री युक्रेनको ‘नट स्ड्युलेड अर फाइटिङ टु लर्न’लाई प्रदान गरियो।
चार दिनसम्म चलेको फेष्टिवलमा नेपालसहित २० देशका फिचर, सर्ट र डकुमेन्ट्री गरी ४३ चलचित्र सहभागी थिए। महोत्सवमा चलचित्र प्रदर्शनसँगै फोटो प्रदर्शनी र नृत्य प्रशिक्षण कार्यक्रमसमेत आयोजना गरिएको थियो।







७ माघ २०८२, बुधबार १३:१४ 










