काठमाडौं । नेपाली चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा सार्वजनिक गरिएको छ। निर्माता अविरल थापाका अनुसार चलचित्र गत जनवरी ९ तारिखदेखि अंग्रेजी शीर्षक ‘The World’s Happiest Man’ नाममा हालका लागि नर्थ अमेरिकामा रिलिज गरिएको हो। अर्का निर्माता राजेन्द्र ठकुराठीका अनुसार चलचित्रलाई क्रमशः विश्वका अन्य प्लेटफर्ममार्फत पनि उपलब्ध गराउने तयारी भइरहेको छ।
गत वैशाखमा नेपालमा प्रदर्शन भएको ‘भूठान’मा भुटानबाट अमेरिका पुगेका भुटानी शरणार्थीको कथा चित्रण गरिएको छ। वृद्धावस्थामा पुगेका एक व्यक्तिले अमेरिकाबाट जन्मभूमि भुटान फर्किन गरेको प्रयास, पराइ भूमिमा भौतिक सुविधा हुँदाहुँदै पनि धर्म, संस्कार र संस्कृतिको अभावले सिर्जना गर्ने मानसिक द्वन्द्व चलचित्रको मुख्य विषय हो।
चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य छन्। साथै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन र विमल सुवेदीको अभिनय रहेको छ। हलिउडका विश्वविख्यात अभिनेता ब्रुस डर्नले विशेष भूमिकामा अभिनय गरेका छन्। यो हलिउडको साग–अफ्ट्रा अन्तर्गत बनेको पहिलो नेपाली चलचित्रसमेत हो।
विनोद पौडेलको निर्देशनमा बनेको ‘भूठान’का निर्माता अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा हुन्। चलचित्रको छायांकन सुसन प्रजापतिले गरेका छन्। ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेन्मेन्टको सहकार्यमा नेपालस्थित अवेकन प्रोडक्सन र अमेरिकाको म्याड मंकी फिल्म्सले चलचित्र निर्माण गरेका हुन्।







७ माघ २०८२, बुधबार १३:३२ 










