सुशील–अञ्जना अभिनित फिल्म ‘परिवर्तन’ले पायो पिजी सर्टिफिकेट

...

काठमाडौं । यही माघ ९ गते शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको एक्सन फिल्मपरिवर्तनसेन्सर पास भएको छ। चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्मलाई पिजी सर्टिफिकेट प्रदान गरेको हो। पिजी सर्टिफिकेटसँगै १६ वर्षमुनिका दर्शकले अभिभावकको साथमा मात्र फिल्म हेर्न पाउनेछन्।

पुराना निर्देशक विजय केरुङको निर्देशन रहेको फिल्ममा समसामयिक विषयवस्तु र राजनीतिक उतारचढाव समेटिएकाले पिजी सर्टिफिकेट प्राप्त भएको निर्देशक केरुङले बताएका छन्। केही डर लाग्दा दृश्यका कारण कम उमेर समूहका दर्शकका लागि अभिभावक आवश्यक पर्ने उनको भनाइ छ।

फिल्मका गीत र ट्रेलर पछिल्लो समय चर्चामा छन्। विशेषगरीपाकेको चिउरीगीत दर्शकमाझ लोकप्रिय बनेको छ भने ट्रेलरले छोटो समयमै ११ लाखभन्दा बढी भ्युज पाएको छ।

परिवर्तनमा सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेको मुख्य भूमिका छ। दिव्यासी फिल्म्सको ब्यानरमा दीपक सिवाकोटीले निर्माण गरेको यस फिल्मको कथा सिवाकोटी स्वयंको हो भने पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन्।

एक्सनसस्पेन्स विधामा बनेको फिल्ममा बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी र एसडी योगीको संगीत रहेको छ। द्वन्द्व निर्देशन श्री श्रेष्ठले गरेका छन्। फिल्मलाई आरआर फिल्म्सले वितरण गरेको छ र ओएसआर डिजिटल सहकार्यमा रहेको छ।