सुरवी बज्राचार्य बनिन् मिस लिटिल नेवाः ११४५

...

काठमाडौं । राजधानीमा सोमबार सम्पन्न नेवार समुदायका बालिकाबीचको सौन्दर्य तथा प्रतिभामूलक प्रतियोगितामा ललितपुरकी सुरवी बज्राचार्यले मिस लिटिल नेवाः ११४५ को उपाधि जितेकी छन्। १९ प्रतिस्पर्धीलाई पछि पार्दै उनले १५औँ संस्करणको ताज चुमेकी हुन्। उपाधिसँगै बज्राचार्यले २५ हजार रुपैयाँ नगदसहित विभिन्न पुरस्कार प्राप्त गरिन्।

नेप्लिज फेसन होमको आयोजना तथा फाइट फर लाइफको सहआयोजनामा सम्पन्न प्रतियोगितामा काठमाडौं मैतीदेवीकी कृष्टिना महर्जन फस्ट रनर्सअप भइन्। उनले मिस ट्यालेन्ट उपउपाधिसमेत जितिन्। कुलेश्वरकी रिपान्सी श्रेष्ठ सेकेण्ड रनर्सअप बनिन्। उपविजेताहरूले क्रमशः १५ हजार र १० हजार रुपैयाँ नगदसहित उपहार प्राप्त गरे।

प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा सम्पन्न प्रतियोगितामा विभिन्न उपउपाधिहरू पनि प्रदान गरिएका थिए। लायन्स क्लब इन्टरनेशनल ३२५ का पास्ट डिस्ट्रिक गभर्नर मनिश्रीरत्न बज्राचार्यको प्रमुख निर्णायकत्वमा सम्पन्न प्रतियोगितामा अधिवक्ता लक्ष्यमान महर्जन, डा. शिक्षिता श्रेष्ठलगायत निर्णायक थिए।

आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवार समुदायको भाषा, कला र संस्कृतिको संरक्षण तथा बालिकाहरूमा आत्मविश्वास विकास गर्ने उद्देश्यले १५ वर्षदेखि निरन्तर प्रतियोगिता आयोजना गर्दै आएको बताइन्।