सुशील–अञ्जना अभिनित ‘परिवर्तन’को अग्रिम बुकिङ खुला, देशभर १०० भन्दा बढी शो

...

काठमाडौं । यही माघ ९ गते (शुक्रबार)बाट प्रदर्शनमा आउन लागेको एक्सनसस्पेन्स फिल्म **‘परिवर्तन’**को अग्रिम बुकिङ खुला भएको छ। देशभरका अधिकांश हलले बुकिङ खोलिसकेका छन् भने केही हलमा प्रिबुकिङ खुल्न बाँकी छ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं र बाहिर गरी ३२ शो दिएको छ। आईएनआईले १५, वान सिनेमाले ९, एफक्यूबले ४ र बिग मुभिजले ३ शो उपलब्ध गराएका छन्। समाचार तयार पार्दासम्म फिल्मले देशभरबाट १०० भन्दा बढी शो पाइसकेको छ।

पछिल्लो समय फिल्मका गीत र ट्रेलरले दर्शकको ध्यान तानेका छन्। विशेषगरी गीत पाकेको चिउरी लोकप्रिय बनेको छ भने ट्रेलरले छोटो समयमा ११ लाखभन्दा बढी भ्यु पाइसकेको छ।

फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेको मुख्य भूमिका छ। दिव्यासी फिल्म्सको ब्यानरमा दीपक सिवाकोटीको निर्माण रहेको यस फिल्मको कथा सिवाकोटी स्वयंको हो भने पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन्।

बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मलाई आरआर फिल्म्सले वितरण गरेको हो। परिवर्तन माघ ९ गतेबाट अल नेपाल प्रदर्शनमा आउनेछ।