काठमाडौं । सफल र चर्चित नेपाली चलचित्र ‘ऊनको स्वीटर’ अब युट्युबमार्फत निःशुल्क हेर्न सकिने भएको छ। निर्माण कम्पनी आर्टमाण्डुले आफ्नै आधिकारिक युट्युब च्यानलबाट चलचित्रलाई विश्वभरका दर्शकका लागि सार्वजनिक गरेको हो।
नेपाल र भारतका हलहरूमा लामो समयसम्म सफल प्रदर्शनपछि सबै दर्शकको पहुँचमा पुर्याउने उद्देश्यले डिजिटल रिलिज गरिएको निर्देशक नवीन चौहानले बताए। चलचित्रले नेपालमा करिब १२ करोड रुपैयाँ आम्दानी गरेको थियो। नेपालका ४० भन्दा बढी हलमा ५१ दिन सफल प्रदर्शन भएको यो फिल्मले भारतमा पनि उस्तै सफलता हासिल गर्दै ४० हलमा ५१ दिनको ऐतिहासिक यात्रा तय गरेको थियो।
भारतमा सिक्किमको गान्तोकदेखि दार्जिलिङ, कालिम्पोङ, आसाम हुँदै मुम्बई, दिल्ली, पुणे, बैंगलोर र केरलासम्म चलचित्र प्रदर्शन गरिएको थियो। फरक भाषा र परिवेश भए पनि यसको भावनात्मक कथावस्तुले भारतीय दर्शकको मन जित्न सफल भएको निर्माण पक्षले जनाएको छ।
समय र स्थानका कारण हलसम्म पुग्न नसकेका दर्शकको निरन्तर मागलाई सम्मान गर्दै युट्युबमा रिलिज गरिएको आर्टमाण्डुले बताएको छ। विपिन कार्की, मिरूना मगर, एलेक्स पारस, परीक्षा लिम्बु र सुनिल पोखरेलको मुख्य अभिनय रहेको ‘ऊनको स्वीटर’ लाई माटो, सम्झना र सम्बन्धको न्यानो कथाका रूपमा प्रस्तुत गरिएको छ।







८ माघ २०८२, बिहीबार १५:०३ 










