काठमाडौं । मिसेस नेपाल इन्टरनेशनल २०२५ सञ्जु भट्ट अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्ड २०२६ मा सहभागिता जनाउन बिहीबार संयुक्त राज्य अमेरिकाको लस भेगासतर्फ प्रस्थान गरेकी छन्।
रिबन इन्टरटेनमेन्टद्वारा राजधानीमा सम्पन्न मिसेस नेपाल वर्ल्ड प्रतियोगिताबाट भट्ट मिसेस नेपाल इन्टरनेशनल २०२५ चयन भएकी हुन्। मिसेस वर्ल्ड २०२६ प्रतियोगिता आगामी जनवरी २२ देखि ३० सम्म लस भेगास, अमेरिकामा आयोजना हुँदैछ। नेपालबाट अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न लागेकी भट्टलाई रिबन इन्टरटेनमेन्ट प्रालिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई सम्मानका साथ बिदाइ गरेको थियो।
विदाई समारोहमा रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा र प्रतियोगिताका कोरियोग्राफर एवं राष्ट्रिय निर्देशक अश्विनीकान्त झाले सफलताको शुभकामना व्यक्त गरे। अध्यक्ष झाले भट्टको अनुशासन, समर्पण र आत्मविश्वासले मिसेस वर्ल्ड २०२६ को मञ्चमा नेपाललाई सशक्त रूपमा प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे। राष्ट्रिय निर्देशक झाले भट्टको तयारी, प्रस्तुति र व्यावसायिक क्षमताले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सकारात्मक प्रभाव पार्ने बताए।
सञ्जु भट्टले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर पाउनु गौरवको विषय भएको उल्लेख गर्दै आयोजक संस्था, प्रशिक्षक टोली तथा सम्पूर्ण नेपालीबाट प्राप्त सहयोग र विश्वासप्रति आभार व्यक्त गरिन्।
प्रतियोगिताका लागि सञ्जु भट्टले प्रस्तुत गर्ने नेसनल कस्ट्युम र गाउन इन्स्टिच्युट अफ इन्टरनेशनल फेसन टेक्नोलोजीका डिजाइनर प्रतिक गुरुङ र दिक्षा ढकालले डिजाइन गरेका हुन्। ककटेल ड्रेस भने सेन्ट्रल फेसन स्कूलकी डिजाइनर सायरा भुजेलद्वारा डिजाइन गरिएको छ।







८ माघ २०८२, बिहीबार १५:४० 










