काठमाडौं । पत्रकार तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनको अवसर पारेर गीति एल्बम ‘भावस्पन्दन’ सार्वजनिक गर्नुभएको छ। मिलापको आयोजनामा बिहीबार काठमाडौंमा आयोजित विशेष समारोहमा महाकाव्यकार खेमनाथ दाहालको सभापतित्व तथा गीतकार–साहित्यकार अमर वान्तुको प्रमुख आतिथ्यतामा एल्बम लोकार्पण गरिएको हो।
समारोहमा गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ कलाकार तथा गीतकार उत्तम केसी, वरिष्ठ संगीतकार राजु सिंह, संगीतकार दीपक शर्मा र राजेन्द्र बजगाईं, गायक सविन सुवेदीलगायतले एल्बम सार्वजनिक गर्नुभयो। कार्यक्रमको सहजीकरण गीतकार तथा चलचित्र विकास बोर्ड सदस्य गणेश सुवेदीले गर्नुभएको थियो भने मिलापका सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य राख्नुभयो।
वक्ताहरूले गीता अधिकारीका गीतमा मनोरञ्जनसँगै सशक्त सन्देश समेटिएको उल्लेख गर्दै उहाँको निरन्तर सिर्जनात्मक सक्रियताको प्रशंसा गरे। एल्बममा ‘यतै घमाइलो उतै घमाइलो’, ‘बजाउँदै चुरा’, ‘तीजैमा व्रत बसी’, ‘श्वास फेरि’, ‘छम छम नाचौन’, ‘कति सजिलै’ र ‘माटोको सुगन्ध’ गरी सात गीत समावेश छन्। ती गीतमा सारिका घिमिरे, योगेशकाजी, शान्तिश्री परियार, सविन सुवेदी र स्मिता प्रधानको स्वर तथा दीपक शर्मा, योगेशकाजी, राजेन्द्र बजगाईं र जीवन शर्माको संगीत रहेको छ।
लोकार्पणसँगै केक काटेर गीता अधिकारीको जन्मोत्सव पनि मनाइएको थियो, जसमा गीतसंगीत, साहित्य र सञ्चार क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।







९ माघ २०८२, शुक्रबार ११:५६ 











