समसामयिक कथावस्तु बोकेको ‘बिगुल’को पब्लिसिटी बुटवलमा

...

बुटवल आगामी फागुन १ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउने नेपाली चलचित्र बिगुल को पब्लिसिटी बुटवलबाट सुरु गरिएको छ। बुटवल जेसिससँगको सहकार्यमा आयोजित कार्यक्रममा निर्माता दिनेश कोइराला, निर्देशक रामेश कोइराला र अभिनेता नरेन खड्कासहितको टोलीले फिल्मको ट्रेलर तथा गीतसंगीत सार्वजनिक गर्दै प्रचार अभियानको शुभारम्भ गरेको हो।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेलगायत जेसिसका प्रतिनिधि तथा स्थानीय बुद्धिजीवीको उपस्थिति रहेको थियो। ट्रेलर हेरेपछि नगरप्रमुख पाण्डेले समसामयिक यथार्थलाई नजिकबाट चित्रण गरिएको फिल्म भएकाले युवा, परिवार र नेतृत्व तहका व्यक्तिहरूले हेर्नुपर्ने प्रतिक्रिया दिनुभयो। जेसिसका प्रतिनिधिहरूले पनि फिल्मले युवाको सोच र नेतृत्वलाई झकझकाउने सन्देश दिने बताएका छन्।

निर्माता दिनेश कोइरालाका अनुसार फिल्मको अनलाइन बुकिङ माघ २८ र २९ गते खुल्नेछ। निर्देशक रामेश कोइरालाले समाजको यथार्थ कथा प्रस्तुत गर्न कथा, अभिनय र सिनेमाटोग्राफीमा विशेष मेहनत गरिएको बताए। अभिनेता नरेन खड्काले चुनावी परिवेशमा समाजको वास्तविकता देखाउने फिल्मले नयाँ आयाम ल्याउने विश्वास व्यक्त गरे।

म्याग्नोलिया ग्रुपको ब्यानरमा बनेको फिल्ममा बेनिशा, नरेन खड्का, नीर शाह, सरोज खनाल, शिशिर वाङ्देललगायत कलाकारको अभिनय रहेको छ। प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथासंवाद, शिव ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन तथा तारा थापा किम्भेको सम्पादन रहेको फिल्म उपत्यकामा काफिया फिल्म्स र मोफसलमा श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले वितरण गर्नेछ।