काठमाडौं । चर्चित अभिनेता दयाहाङ राई र सौगात मल्ल फेरि एकपटक एकै फिल्ममा देखिने भएका छन्। अनिल बुढा मगरको निर्देशनमा बन्ने सामाजिक कथावस्तुमा आधारित फिल्म ‘मितज्यू’को छायांकन वसन्त पञ्चमीको अवसर पारेर सुरु गरिएको छ।
दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै धार्मिक विधिपूर्वक पहिलो दृश्य खिचिएको हो। ‘घरज्वाइँ’पछि अनिल बुढा मगरको दोस्रो निर्देशकीय फिल्मका रूपमा रहेको ‘मितज्यू’मा दयाहाङ र सौगातसँगै तेरिया फौजा मगर, पुस्कर गुरुङ र शिशिर वाङ्देलको मुख्य भूमिका रहनेछ।
फिल्ममा राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई र खड्गबहादुर पुन मगर (खबपु) लगायत कलाकारहरूको पनि अभिनय रहेको छ।
निर्माता जनक घर्ती मगरका अनुसार फिल्मको छायांकन दाङ र रोल्पाका विभिन्न स्थानमा गरिनेछ। आरआर फिल्म्सको वितरणमा ‘मितज्यू’ आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा देशभर प्रदर्शनमा आउने तयारीमा छ।







९ माघ २०८२, शुक्रबार १३:३५ 











