काठमाडौं । चलचित्र ‘रोल नं. १’ ले आगामी २०८३ जेठ १५ गते, गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आउने मिति तय गरेको छ। निर्माण पक्षले शुक्रबार वसन्तपञ्चमी तथा सरस्वती पूजाको शुभ अवसरमा चलचित्रको रिलिज डेट सार्वजनिक गरेको हो।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको यस चलचित्रको रिलिज मिति विशेष कार्यक्रमबीच घोषणा गरिएको थियो। चलचित्रका मुख्य बाल–कलाकार अध्ययनरत विद्यालय ‘पाथिक ज्ञान निकेतन’मै पुगेर निर्माण टोलीले सरस्वती पूजाका बीच प्रदर्शन मिति सार्वजनिक गरेको हो।
निर्माता विनोद पौडेलका अनुसार ‘रोल नं. १’ नेपालसँगै विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइनेछ। चलचित्रको छायांकन हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण स्थानमा गरिएको छ।
जोन योञ्जनको निर्देशनमा तयार भइरहेको यो चलचित्र पूर्ण रूपमा बाल मनोविज्ञानमा आधारित छ। महेश दवाडीको लेखन रहेको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन्।
रिच इन्टरटेन्मेन्ट र जेएम सिनेमाको वितरणमा ‘रोल नं. १’ जेठ १५ मा देश–विदेशमा एकसाथ प्रदर्शन हुने तयारीमा छ।







९ माघ २०८२, शुक्रबार १३:३७ 











