‘कल्ली’को छायांकन पूरा, पूजा शर्माको आइटम डान्स खिचेर फिल्म प्याकअप

...

काठमाडौँ । फागुन १ गते प्रदर्शनका लागि तय गरिएको चलचित्र कल्ली को सम्पूर्ण छायांकन पूरा भएको निर्माण पक्षले जनाएको छ। चोभारमा नायिका पूजा शर्माको आइटम डान्स खिचेपछि फिल्मको अन्तिम छायांकन सकिएको हो।

निर्माता किरण नेपालीका अनुसार, पूजा शर्मालेक्या राम्रीबोलको गीतमा २ दिन लगाएर नृत्य गरेकी हुन्। यस गीतमा आशिष अविरलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, र सुरेन्द्र रानाको शब्द रहेको छ। आशिष अविरल र मेलिना राईको स्वरमा रहेको यो गीतमा नायक उत्तम प्रधान, किरण श्रेष्ठ, र कलाकार सुलक्षण भारती पनि नृत्यमा देखिएका छन्।

पूजा शर्माका अनुसार यो उनका करियरको पहिलो आइटम डान्स हो र यसमा काम गर्न पाउँदा निकै खुशी लागेको छ।

लेकालि इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सन प्रस्तुत फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन र महेश दवाडीको लेखन रहेको छ। फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, बिनोद न्यौपाने लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ। बाल कलाकारको रूपमा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा छन्।

फिल्मको छायांकन जुम्ला लगायतका स्थानमा भएको हो। निसाल पौडेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन, र आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत फिल्मको प्रमुख विशेषता हुन्।

निर्माण प्रमुख सुरज आचार्यले बताए अनुसार फिल्मको टिजर पनि सार्वजनिक भइसकेको छ र गीत सार्वजनिक गर्ने मिति केही समयपछि घोषणा गरिनेछ।