काठमाडौं — निर्देशक कृषा चौलागाईंको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘पारस’ मा अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छन्। निर्माण पक्षले शनिबार जसितालाई औपचारिक रूपमा फिल्मका लागि अनुबन्ध गरेको हो। यसअघि अभिनेता निखिल उप्रेती फिल्ममा आबद्ध भइसकेपछि अब जसिताको इन्ट्रीसँगै ‘पारस’ थप चर्चामा आएको छ।
जसिताको अपोजिटमा निखिल उप्रेती देखिन सक्ने चर्चा भए पनि निर्माण टिमले अन्य कलाकारबारे आधिकारिक जानकारी सार्वजनिक गरेको छैन। कलाकार चयनलाई गोप्य राखिएको विषयले दर्शकमाझ झनै कौतुहलता बढाएको छ। निर्देशक चौलागाईंका अनुसार फिल्मको कथाअनुसार नै कलाकारहरू क्रमशः फाइनल गर्दै लगिएको हो।
एक्सन र सामाजिक कथामा आधारित ‘पारस’ मा निखिल र जसिताको जोडीले दर्शकलाई फरक स्वाद दिने विश्वास निर्माण पक्षले गरेको छ। दुवै कलाकारबीच फिल्मका लागि कागजी सम्झौता भइसकेको निर्देशक चौलागाईंले जानकारी दिइन्।
केपी फिल्म्सको ब्यानरमा निर्माण हुने ‘पारस’ को कथा भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन्। छायांकन चर्चित डीओपी पुरुषोत्तम प्रधानले गर्नेछन्। यसअघि ‘ऐचो पैचो’ र ‘पिताम्बर’ निर्देशन गरिसकेकी कृषा चौलागाईंको यो तेस्रो निर्देशन हुनेछ। चलचित्रको छायांकन आगामी फागुनबाट सुरु गर्ने तयारी निर्माण पक्षको छ।







११ माघ २०८२, आईतवार १०:३७ 











