काठमाडौँ । चलचित्र विकास बोर्डले चालु आर्थिक वर्ष २०८२/०८३ लाई लक्षित गर्दै ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२’ को अवसरमा नेपाली चलचित्र क्षेत्रमा कार्यरत चलचित्रकर्मीहरूका लागि ११ विधामा तालिम तथा कार्यशाला सञ्चालन गर्ने गरी आवेदन आह्वान गरेको छ।
बोर्डद्वारा सार्वजनिक सूचनाअनुसार साउण्ड मिक्सिङ तथा पोस्ट–प्रोडक्सन, स्पट सिङ्क साउण्ड, सिनेमेटोग्राफी, पटकथा लेखन, ड्रोन सञ्चालन, मेकअप, फोटो तथा भिडियो पत्रकारिता, कलर करेक्सन, एआई (कृत्रिम बुद्धिमत्ता), प्रतिलिपि अधिकार, साइबर सुरक्षा तथा मानसिक स्वास्थ्यसम्बन्धी तालिम तथा कार्यशाला सञ्चालन गरिनेछ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नेपाली चलचित्र उद्योगको दीर्घकालीन विकासका लागि दक्ष जनशक्ति अपरिहार्य रहेको उल्लेख गर्दै नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन प्राविधिक तथा सिर्जनात्मक रूपमा सक्षम चलचित्रकर्मी उत्पादन आजको आवश्यकता भएको बताए। उनका अनुसार ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२’ अन्तर्गत सञ्चालन हुने यी तालिम तथा कार्यशालाले चलचित्रकर्मीहरूको सीप र क्षमतामा ठोस योगदान पुर्याउने विश्वास लिइएको छ।
बोर्डले तालिमहरूलाई केवल औपचारिकतामा सीमित नराखी व्यवहारिक, परिणाममुखी तथा उद्योगमैत्री बनाउने लक्ष्य लिएको पनि अध्यक्ष डीसीले स्पष्ट पारे।
तालिममा सहभागी हुन इच्छुक चलचित्रकर्मीहरूले बोर्डको वेबसाइटबाट आवेदन फारम डाउनलोड गरी सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिन सक्नेछन्। पछिल्लो पाँच वर्षदेखि सम्बन्धित विधामा सक्रिय रूपमा कार्यरत चलचित्रकर्मीहरूलाई प्राथमिकता दिइने बोर्डले जनाएको छ।
थप जानकारीका लागि चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ।







१५ माघ २०८२, बिहीबार ११:४८ 











