काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘आ बाट आमा’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले दुई दिनअघि चलचित्रलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरेको हो।
चलचित्र अवलोकनका क्रममा सेन्सर बोर्डका सदस्यहरू भावुक बनेका छन् । सेन्सर बोर्ड सदस्य तथा वरिष्ठ पत्रकार कुबेर गिरीले ‘आ बाट आमा’को कथा फरक र गहिरो भावनात्मक रहेको भन्दै फिल्म हेर्दा पटक–पटक आँसु झरेको अनुभव सुनाए । आमाको कथामा यसअघि पनि फिल्म बनेको भए पनि ‘आ बाट आमा’ले विषयलाई नयाँ ढंगले प्रस्तुत गरेको उनको भनाइ छ।
सेन्सर बोर्डकै अर्का सदस्य सम्पर्ण श्रेष्ठले पनि चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिए । पछिल्लो समय नेपाली चलचित्रको स्तर उकासिँदै गएको उल्लेख गर्दै उनले ‘आ बाट आमा’ पारिवारिक कथामा आधारित सशक्त फिल्म भएको बताए र दर्शकलाई हलमा पुगेर हेर्न आग्रह गरे।
सेन्सर बोर्ड सदस्यहरूको सकारात्मक प्रतिक्रियापछि निर्माण पक्ष उत्साहित देखिएको छ । चुनावी माहोलका बाबजुद पनि चलचित्रको चर्चा कम नभएको निर्माण पक्षको भनाइ छ। चलचित्रमा समावेश ‘लैजा खबर ए हावा’ र ‘जाँदैछु नौ डाँडा काटेर’ गीतले दर्शकलाई भावुक बनाएको प्रतिक्रिया आइरहेको छ भने ती गीतले युट्युबमा ३० लाखभन्दा बढी भ्युज बटुलिसकेका छन्।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्तलगायत कलाकारको अभिनय रहेको छ । ‘आ बाट आमा’ शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आउनेछ।







१५ माघ २०८२, बिहीबार १२:२८ 











