पूर्वी नेपालमा ‘कुमारी’को भव्य प्रचार, मधुमल्लामा हजारौं दर्शकसँग म्युजिकल कन्सर्ट

...

दमक — माघ २३ गते प्रदर्शन तयारीमा रहेको वर्षकै प्रतीक्षित प्रेमकथानक चलचित्र ‘कुमारी’ ले पूर्वी नेपाल केन्द्रित आक्रामक प्रचार अभियानलाई निरन्तरता दिएको छ। काठमाडौंको भृकुटीमण्डपमा १० हजार दर्शकमाझ ऐतिहासिक रूपमा ट्रेलर सार्वजनिक गरेपछि चलचित्रको टोली पूर्वी यात्रामा निस्किएको हो।

सोही क्रममा मोरङको मधुमल्ला बजारमा आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ भव्य रूपमा सम्पन्न भएको छ। भगवती माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा करिब २ हजार दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख कलाकार अबिषेक खड्का र आकृति राजभण्डारी ले सुपरहिट गीत ‘डोको बुन्ने’ मा लाइभ नृत्य प्रस्तुत गर्दा दर्शक झुमेका थिए। गायक केहर सिं लिम्बु ले ‘डोको बुन्ने’, ‘तिमी बिना’ र ‘कता छौ’ लगायत गीतहरू गाएर माहौल तताएका थिए।

यसैबीच अभिनेता अबिषेक खड्का झापाको बिर्तामोडस्थित आफ्नो गृह नगर पुगेका छन्। अभिनेत्री आकृतिसहित घर पुगेका उनलाई आफन्त तथा छिमेकीले भव्य स्वागत गरेका थिए। लामो समयपछि बुबासँग भेट हुँदा माहौल भावुक बनेको थियो।

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीको निर्माण र दिनेश राउतको निर्देशनमा बनेको ‘कुमारी’मा प्रेम, संघर्ष र पारिवारिक अन्तर्द्वन्द्व चित्रण गरिएको छ। चलचित्रका गीत ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ पहिले नै हिट भइसकेका छन् भने ‘डोको बुन्ने’ ले युट्युबमा ८५ लाखभन्दा बढी भ्युज पाइसकेको छ।

चलचित्रमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की लगायतको अभिनय रहेको छ। लेखन विकास सुवेदी, छायाङ्कन सुसन प्रजापति, सम्पादन सुप्रिम पराजुली र पोस्टर/पब्लिसिटी डिजाइन रोयल भीमसेनले गरेका छन्। कार्यकारी निर्माता केदार भुसाल हुन्।