‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक, महाशिवरात्रिमा प्रदर्शन हुँदै

...

काठमाडौं । आगामी फागुन १ गते महाशिवरात्रिको अवसर पारेर देशभर प्रदर्शनमा आउन लागेको चलचित्रशिवांश : च्याप्टर १को ट्रेलर सार्वजनिक गरिएको छ। अञ्जन सिनेमा प्रोडक्शनको ब्यानरमा निर्माण भएको यस चलचित्रको ट्रेलरमा शिवको भेषमा गरिने आपराधिक गतिविधि, तान्त्रिक अभ्यास र रहस्यमयी शक्तिको कथा प्रस्तुत गरिएको छ।

ट्रेलरले बाहिरबाट साधुसन्तको भेषमा देखिने पात्रभित्र लुकेको क्रुर मानसिकता र जघन्य अपराधलाई उजागर गर्दै पौराणिक हिन्दु मान्यता र आधुनिक युगको द्वन्द्वलाई रोचक ढंगले देखाएको छ। पौराणिकसमुद्र मन्थनर दिव्य शिलासँग जोडिएको कथावस्तुले चलचित्र रहस्य, आध्यात्मिक शक्ति र विनाशको वरिपरि घुम्ने संकेत गर्छ।

ट्रेलरको बलियो पक्ष अभिनेता प्रविण खतिवडाको लुक्स र अभिनय रहेको छ, जहाँ उनी शक्तिशालीएन्टीहिरोपात्रका रूपमा प्रस्तुत देखिन्छन्। तेज गिरी, विकास जोशी र रुशा न्यौपानेको भूमिकाले पनि कथालाई थप रहस्यमयी बनाएको छ।

निर्देशक सन्तोष कुमार आत्रेयले चलचित्रलाई फरक शैली र भव्य प्रस्तुतिमा निर्देशन गरेका छन्। छायांकन, पृष्ठभूमि संगीत र भीएफएक्समा पनि विशेष ध्यान दिइएको देखिन्छ। चलचित्रमा भारतीय गायक कैलाश खेरको स्वर तथा संगीत विशेष आकर्षणका रूपमा रहेको छ।

चलचित्रमा प्रविण खतिवडा, तेज गिरी, विमला लिम्बू र रुशा न्यौपाने मुख्य भूमिकामा छन्। कथा अञ्जान केसीको, स्क्रिनप्ले बारत लिम्बूको रहेको छ। अञ्जान केसी निर्माता तथा शोभा भण्डारी र अनिस केसी बोगटी सहनिर्माता हुन्।

नेपाली चलचित्र क्षेत्रमा कमै बन्ने पौराणिक विषयवस्तुमा आधारितस्पिरिचुअल एक्शन ड्रामाविधामा तयार भएको यस चलचित्रले दर्शकलाई नयाँ अनुभव दिने अपेक्षा गरिएको छ।