काठमाडौं — लोक आधुनिक शैलीको नयाँ गीत ‘कलियुगकी राधा’ सार्वजनिक भएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ गायिकाहरू कुन्ति मोक्तान, सुक्मित गुरुङ, मोनिला सोताङ र देविका बन्दनाले संयुक्त रूपमा गीत सार्वजनिक गरे।
सार्वजनिक गीतमा बबिता मानन्धरको स्वर, डीपी खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत र कुमार केसीको मिक्सिङ रहेको छ। गीतको भिडियो राजिव समरले निर्देशन गरेका छन्, जसमा आश्मा बिश्वकर्मा र अभिषेक श्रेष्ठको नृत्य रहेको छ। भिडियोको छायांकन दिनेश पराजुलीले गरेका छन् भने सम्पादन डिन्सन शाहले गरेका छन्। शुरेश मानन्धरले निर्माण गरेको गीत डान्सिङ्ग बिटमा आधारित छ र आधुनिक समाजमा प्रेम, नारी भावना र सम्बन्धको यथार्थलाई समेटेको छ।
साढे दुई दशकदेखि निरन्तर संगीत क्षेत्रमा सक्रिय गायिका बबिता मानन्धरको सुमधुर स्वरले गीतलाई भावनात्मक बनाएको छ। गायिका मानन्धरले संगीतकार थापाको संगीतमा स्वर दिन निकै मेहनत गर्नु परेको बताइन् र शब्द तथा संगीतको उत्कृष्ट संयोजनले गीतलाई अझ प्रभावशाली बनाएको विश्वास व्यक्त गरिन्।
कार्यक्रमका प्रमुख अतिथि कुन्ति मोक्तानले बबिताको स्वरको मुक्त कण्ठको प्रशंसा गर्दै उनले जुनसुकै शैलीको गीतलाई पनि न्याय गर्न सक्ने बताइन्। वरिष्ठ गायिका सुक्मित गुरुङले गीतको शब्द, संगीत र भिडियो उत्कृष्ट भएको प्रतिक्रिया दिइन् भने मोनिला सोताङले दर्शक स्रोताको मन जित्ने विश्वास व्यक्त गरिन्। देविका बन्दनाले पनि बबिताको स्वरको गुणस्तर यथावत रहेको बताइन्।
संगीतकार शंकर थापा ‘स्माइल’ले नेपाली संगीतका अग्रज गायिकाहरूको उपस्थितिमा गीत सार्वजनिक गर्नु गर्वको क्षण भएको बताए। मोडल आश्मा बिश्वकर्माले पनि दर्शकले गीत र भिडियो मन पराउने विश्वास व्यक्त गरिन्।

बबिता मानन्धरको परिचय
सुमधुर स्वरकी धनी गायिका बबिता मानन्धरले २०५७ सालमा प्रदर्शन भएको फिल्म चलचित्र बाट पाश्र्व गायन सुरु गरेकी हुन्। २५ वर्षभन्दा बढीको सांगीतिक यात्रामा उनले चाहछु म तिमीलाई, बाउन्सर, मेरी आम्मै लगायत करिब २ दर्जन चलचित्रमा स्वर दिएकी छिन्।
चलचित्र बाहेक उनले ५० भन्दा बढी आधुनिक, पप, लोकपप, भजन लगायतका गीतहरूमा पनि स्वर दिएकी छिन्। नेपालीसहित नेवारी, हिन्दी र बंगाली भाषामा पनि गीत गाएकी बबिता मानन्धर भर्सटाइल गायिकाको रूपमा स्थापित छिन्।
उनका लोकप्रिय गीतहरूमा बाँधी दिए मायाको डोरीले, देउराली भाके हजुर, आत्मामा लगायत ३ दर्जनभन्दा बढी हिट गीतहरू छन्। गायिका मानन्धर गीतकार र संगीतकार पनि हुन् र उनको संगीतमा अञ्जु पन्तले स्वर दिएको आफ्नै सासको त छैन भर गीत पनि निकै लोकप्रिय छ।
बबिता मानन्धरले भारत, चीन, बेलायत, सिङ्गापुर, दुबई, जापान लगायतका देशमा सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेकी छिन् र उत्कृष्ट गायकीका लागि अमिन राष्ट्रिय अवार्ड लगायत थुप्रै सम्मान प्राप्त गरिसकेकी छिन्।







२३ माघ २०८२, शुक्रबार १५:५० 











