काठमाडौँ । आगामी फागुन १ गतेदेखि प्रदर्शनमा आउने पारिवारिक सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’ ले दर्शकको मन जित्ने मिठो गीत सार्वजनिक गर्दै प्रचारलाई थप न्यानो बनाएको छ। शुक्रबार राजधानीमा आयोजित विशेष कार्यक्रममा सिनेमाको नयाँ गीत सार्वजनिक गरिएको हो।
‘ए साइला दाई’ बोलको गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ भने सविन सुबेदी र युक्ती बिमलीको सुमधुर स्वरले गीतलाई अझ भावुक बनाएको छ। सार्वजनिक गीतको भिडियोमा मुख्य कलाकार आशीर्वाद क्षेत्री र निकिता आचार्यको आकर्षक नृत्य देख्न सकिन्छ।
सुदीप भूपाल सिंहको लेखन तथा निर्देशनमा बनेको यो सिनेमा पारिवारिक सम्बन्ध, माया र अपनत्वको कथामा आधारित रहेको छ। फिल्ममा आशीर्वाद र निकितासँगै लक्ष्मी गिरी, प्रतीक राज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मि भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मालगायत कलाकारको अभिनय रहेको छ।
फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको सिनेमालाई रुबी सेन सिंहले निर्माण गरेकी हुन्। सिनेमामा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन, सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर ग्रेडिङ, विक्रम कार्कीको ब्याकग्राउन्ड स्कोर तथा बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन रहेको छ।
रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीतले सजिएको ‘श्री बुकुरोः द होम कलिङ’ परिवारसँगै बसेर हेर्न मिल्ने न्यानो कथासहित फागुन १ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ।







२४ माघ २०८२, शनिबार १८:०३ 











