समीक्षकको नजरमा अब्बल ‘कुमारी’, ५ मा ४ स्टार रेटिङसहित ‘छोरीहरूले हेर्नै पर्ने’ चलचित्रको संज्ञा

...

काठमाडौं । दिनेश राउत निर्देशित हाल प्रदर्शनरत नेपाली चलचित्र ‘कुमारी’ले समीक्षक तथा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ। विशेष गरी चलचित्र समीक्षकहरूले यसको प्रेम कथा, मौलिक कथावस्तु र सांस्कृतिक पक्षको खुलेर तारिफ गर्दै ४ स्टारसम्मको रेटिङ दिएका छन्।

प्रेम कथा र महिला संवेदनालाई केन्द्रमा राखेर निर्माण गरिएको यो चलचित्रलाई समीक्षकहरूले ‘धमाकेदार’ र ‘लामो समयपछि आएको उत्कृष्ट नेपाली चलचित्रुको रूपमा व्याख्या गरेका छन्। समीक्षकहरूले आफ्नो समीक्षामा चलचित्रको पटकथा र प्रस्तुतिको उच्च प्रशंसा गरेका छन्। एक समीक्षामा भनिएको छ, ‘ चलचित्र विशेष गरी छोरीहरूले हेर्नै पर्ने बनेको छ। केही पुरुष दर्शकहरूले कथाको गहिराइ तुरुन्तै नबुझे पनि महिला दर्शकका लागि भने यो चलचित्र अत्यन्तै मर्मस्पर्शी र अर्थपूर्ण छ।’v

चलचित्रले सामाजिक संस्कार, परम्परा र संस्कृतिलाई पनि पर्दामा निकै सुन्दर र कलात्मक ढङ्गले प्रस्तुत गरेको समीक्षकहरूले मन पराएका छन्। समीक्षकहरूका अनुसार, चलचित्रको मुख्य सबल पक्ष नै यसको कथा वाचन शैली हो। यसले महिलाहरूको कुमारीत्वको महत्त्व र त्यससँग जोडिएको पारिवारिक, सामाजिक तथा मनोवैज्ञानिक पाटोलाई गहिराइमा गएर उजागर गरेको छ।

समीक्षकहरूले चलचित्रको सस्पेन्स र इमोसन दर्शकलाई अन्तिमसम्म बाँधिराख्न सफल भएको बताएका छन्। विश्लेषणमा चलचित्रको प्राविधिक पक्ष र कलाकारहरूको अभिनयको तारिफ गर्दै यसलाई ४ स्टार योग्य चलचित्र भनिएको छ। समीक्षकहरूले यसलाई केवल मनोरञ्जनको साधन मात्र नभई एउटा गम्भीर सामाजिक विमर्शको थालनी गर्ने चलचित्रको रूपमा लिएका छन्। परम्परागत ढाँचाका लभ-स्टोरीभन्दा पृथक शैली अपनाउँदै, प्रेम र समाजमा अन्तरनिहित महिला संवेदनालाई उत्कृष्ट ढंगले प्रस्तुत गरिएको समीक्षकहरूको बुझाइ छ।

चलचित्रमा अभिषेक खड्का, आकृति राजभण्डारी, मधु खड्का लगायतका कलाकारहरूको अभिनयले कथालाई जीवन्त बनाएको छ। युवा पुस्ताको रोजाइ र अपेक्षालाई सम्बोधन गर्न सफल भएकाले हलमा युवा दर्शकहरूको उल्लेख्य उपस्थिति देखिएको छ।

समग्रमा, मौलिक नेपालीपन, सशक्त अभिनय र बलियो पटकथाको खोजीमा रहेका दर्शकहरूका लागि ‘कुमारी’ एउटा ‘मस्ट वाच’ सिनेमा बनेको समीक्षकहरूको निष्कर्ष छ।