काठमाडौं – आना शर्मा र सुशान्त केसीको ब्रेकअपको चर्चाबीच चलचित्र ‘रमिताको पिरती’को गीत सार्वजनिक भएको छ। सुशान्त केसीको स्वर तथा संगीत रहेको ‘तिम्रै छेऊमा’ बोलको गीत फिल्म रिलिजको चौथो दिनमा फेसबुक र इन्स्टाग्राममार्फत सार्वजनिक गरिएको हो।
केही समयअघि आना शर्मा र सुशान्त केसीले एक–अर्कालाई सामाजिक सञ्जालमा अनफलो गरेपछि उनीहरूबीच सम्बन्ध टुटेको हल्ला चलेको थियो। तर आनाको मुख्य भूमिका रहेको फिल्मका लागि सुशान्तले गीत सार्वजनिक गर्नुका साथै सामाजिक सञ्जालमार्फत शुभकामना दिएपछि दुवैबीच सम्बन्ध सौहार्दपूर्ण रहेको संकेत देखिएको छ।
सार्वजनिक गीतमा आना शर्मा र धिरज मगरबीचका भावनात्मक दृश्य समेटिएका छन्। गीतले फिल्मका मुख्य पात्रबीचको आत्मीय सम्बन्धलाई चित्रण गरेको देखिन्छ।
शुक्रबारदेखि प्रदर्शनमा आएको ‘रमिताको पिरती’ ले दर्शकको संख्या दिनदिनै बढाउँदै लगिरहेको निर्माता सागर लम्सालले बताएका छन्। अर्का निर्माता सुवास कोइरालाले पनि दर्शक प्रतिक्रिया र ‘वर्ड अफ माउथ’ का कारण व्यापारमा थप उछाल आउने विश्वास व्यक्त गरेका छन्।
सुदिप्ताको लेखन तथा निर्देशनमा बनेको यस फिल्मले रमिता नामकी युवतीको सम्बन्ध र जीवनका विभिन्न आयामको कथा प्रस्तुत गर्छ। अभिनय र प्रस्तुतिकरणको प्रशंसा भइरहेको यस फिल्ममा आना शर्माको अभिनय अहिलेसम्मकै उत्कृष्ट भएको भन्दै दर्शकले सामाजिक सञ्जालमा प्रतिक्रिया दिइरहेका छन्।
फिल्ममा आना शर्मासँगै धिरज मगर, समिर श्रेष्ठ, विनय श्रेष्ठ र रेनु योगीको अभिनय रहेको छ। छायांकन शिशिर विसङ्खेले गरेका हुन् भने सम्पादन सुनिल शिवभक्तिले गरेका छन्।







२७ माघ २०८२, मंगलवार १२:४२ 











