निर शाह एक दशकपछि निर्देशनमा फर्किए

...

काठमाडौं  नेपाली चलचित्रका वरिष्ठ कलाकार तथा निर्देशक निर शाहले मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ चलचित्र कमला मिस मार्फत करिब एक दशकपछि निर्देशनमा पुनः सक्रियता जनाउनुभएको छ।

शुक्रबार ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा विधिवत् शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो।

निर शाहले निर्देशन गरेको चलचित्रकमला मिसमानव मनोविज्ञानका सूक्ष्म आयामलाई केन्द्रमा राखेर निर्माण गरिएको बताइएको छ। चलचित्रमा उहाँसँगै बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ र जयन्त रेग्मी मुख्य भूमिकामा देखिँदैछन्। मुख्य सहायक निर्देशकका रूपमा सागर बोहरा रहनुभएको छ।

चलचित्र **विजय मल्ल स्मृति प्रतिष्ठान**को प्रस्तुतिमा निर्माण हुँदैछ। कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन् भने लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन) रहेका छन्। कथाकार विजय मल्ल हुन् भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका छन्।

निर शाहले आफ्नो सिनेयात्रा २०२४ सालमा परिवर्तन बाट सुरु गर्नुभएको हो। उहाँद्वारा निर्देशित स्मरणीय चलचित्रमा वासुदेव, पच्चीस वसन्त, राजमती, वसन्ती, मसान र सेतोबाघ रहेका छन्। अभिनयमा उहाँले तीन सयभन्दा बढी चलचित्रमा योगदान दिइसक्नुभएको छ।

उहाँ अभिनीत पछिल्लो चलचित्र परान ले बक्स अफिसमा करिब १८ करोड रुपैयाँको कारोबार गर्दै व्यावसायिक सफलता हासिल गरेको थियो।कमला मिसमार्फत निर शाहले नेपाली दर्शकमाझ पुनः गहिरो वैचारिक संवाद स्थापित गर्ने अपेक्षा गरिएको छ।