काठमाडौं — आठ वर्षपछि निर्देशनमा फर्किएकी चर्चित नेपाली अभिनेत्री रेखा थापा ले नयाँ कथानक चलचित्र ‘माया भनेकै यस्तै होला’ को औपचारिक घोषणा गरेकी छन्। महाशिवरात्रीको अवसरमा आइतबार राजधानीमा विशेष कार्यक्रमको आयोजना गरी चलचित्र निर्माण घोषणा गरिएको हो।
‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता चलचित्र निर्देशन गरिसकेकी रेखा थापाको यो तेस्रो निर्देशनात्मक प्रयास हो। यस पटक उनले आफ्नै ‘रेखा फिल्मस्’ भन्दा बाहिरको ब्यानर ‘दिया एन्ड अमु फिल्मस्’ अन्तर्गत काम गर्ने भएकी छन्। नेपाली चलचित्र इतिहासमा स्थापित महिला निर्देशकले बाहिरी ब्यानरमा निर्देशन गर्न लागेको यो सम्भवतः पहिलो पटक मानिन्छ।
चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र दिल श्रेष्ठ सहित तीन पूर्व मिस नेपाल — सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह — लाई मुख्य भूमिकामा राखिएको छ।
निर्माण घोषणा कार्यक्रममा दुईवटा फर्स्टलक पोस्टर पनि सार्वजनिक गरिएको थियो। पहिलो पोस्टरमा दिल श्रेष्ठसँग तीन अभिनेत्रीहरू रातो रङका भव्य पहिरन (लेहेंगा र सारी) मा देखिएका छन्, जसले सम्भावित प्रेम त्रिकोण वा सम्बन्धका जटिल पक्षहरूलाई संकेत गर्छ। दोस्रो पोस्टरमा दिल श्रेष्ठ वृद्ध कलाकार मदनकृष्ण श्रेष्ठसँग भावुक मुद्रामा देखिएका छन्, जसले सन्तानको कर्तव्य र बुढ्यौलीको सहाराको कथालाई प्रस्तुत गर्छ।
निर्देशिका रेखा थापाले चलचित्र समाजमा घटेका वास्तविक घटनामा आधारित रहेको बताइन्। उनले भनिन्, “यो चलचित्रमा तपाईँको जीवनमा घटेका, मेरो जीवनमा घटेका र समाजले अनुभूति गरेका कथाहरू प्रस्तुत गरिएको छ। निर्देशकको रूपमा मैले यी कथाहरूलाई वास्तविक मानव अनुभवको रूपमा देखाउन चाहेको छु।”

रेखाले दिल श्रेष्ठको अभिनय क्षमता प्रशंसा गर्दै भन्नुभयो, “उहाँ निकै क्यापाबल र राम्रो प्रदर्शन दिन सक्ने कलाकार हुनुहुन्छ। यदि उहाँले निरन्तर अभिनय जारी राख्नुभएको भए अहिलेसम्म निकै स्थापित भइसकेको हुन्थ्यो।”
तीन पूर्व मिस नेपालहरूलाई चलचित्रमा समावेश गरेकोबारे उनले स्पष्ट पारिन्, “उनीहरूलाई मिस नेपालको ट्यागका कारण मात्र होइन, मेरो कथा र विषयवस्तु अनुसार उनीहरू पूर्ण फिट भएकाले छनोट गरिएको हो।”
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले रेखा थापाको निर्देशनमा काम गर्न पाउनु आफूलाई “नयाँ संसार प्रवेश गरेको जस्तो” लागेको बताए। अभिनेत्री सृष्टि श्रेष्ठले चलचित्रमा काम गर्नु र दिग्गज कलाकारसँग स्क्रिन सेयर गर्नु आफूसँग मायाको अर्को रूप जस्तो लागेको बताए भने नम्रता श्रेष्ठले रेखालाई ‘लिजेन्डरी’ व्यक्तित्वको संज्ञा दिँदै निर्देशनमा काम गर्न उत्साहित रहेको बताइन्।
ध्रुव लम्सालको स्क्रिप्टमा १० वर्षपछि लेखन फर्किएको हो र उनले यसमा धेरै मिहिनेत भएको बताएका छन्।
चलचित्रको सहायक कलाकारमा लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ, बिनोद पौडेल लगायत रहेका छन्। छायांकन फागुन दोस्रो साता सुरु हुने बताइएको छ भने प्रदर्शन आगामी वर्षको तीजको अवसरमा गर्ने लक्ष्य राखिएको छ।







३ फाल्गुन २०८२, आईतवार १७:०५ 










