काठमाडौं — निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘पहाड’ नयाँ वर्ष २०८३ को अवसरमा वैशाख १ गते देशभर प्रदर्शनमा आउने भएको छ।
निर्माण पक्षका अनुसार वितरकसँगको छलफलपछि नेपाल तथा अन्तर्राष्ट्रिय प्रदर्शनलाई समेत मध्यनजर गर्दै सो मिति तय गरिएको हो। पारिवारिक विषयवस्तु भएकाले नयाँ वर्षको छुट्टीमा स–परिवार हल पुगेर हेर्न मिल्ने समयलाई प्राथमिकता दिइएको निर्देशक घिमिरेले बताए।
उच्च पहाडबाट युवा जनशक्ति विदेश पलायन हुँदा सिर्जना भएको सामाजिक तथा आर्थिक यथार्थलाई कथावस्तु बनाइएको यो चलचित्रका निर्माता ओजस्वी केसी हुन्। चलचित्र भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो।
चलचित्रको छायांकन प्रमोद प्रधानले गरेका छन्। कलाकारमा विपीन कार्की, सुनिल थापा र मदनकृष्ण श्रेष्ठलगायतको अभिनय रहेको छ।
यसमा संगीत निर्देशन रञ्जित गजमेरले गरेका छन् भने क्रिएटिभ निर्देशक भारती घिमिरे हुन्। चलचित्र ‘पहाड’ नेपालमा बैङ्कटेश इन्टरटेनमेन्टले र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ।







४ फाल्गुन २०८२, सोमबार १३:३१ 










