काठमाडौं — लोकप्रिय टिभी रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौड्याल आफ्नो डेब्यू निर्देशनमा ‘भटभटे’कोछायाँकन धमाधम जनकपुरमा सुरु भएको छ ।
रोमाञ्चक प्रेम र सामाजिक विषय समेटिएको फिल्मको छायांकन आइतबारदेखि महाशिवरात्रिको पावन अवसर पारेर जनकपुरबाट सुरु भएको हो । जनकपुरको सहरी क्षेत्रका अलावा बगडा सहित लोहारपट्टी क्षेत्रमा समेत फिल्मको शूटिङ हुनेछ।
फिल्ममा मुख्य भूमिकामा अञ्जना बराइली, ‘कार्टुन्ज क्रू’ का सविन कार्की, रविन्द्र झा र प्रमोद अग्रहरीको अभिनय रहनेछ।
फिल्मको कथाकार प्रसिद्ध साहित्यकार नयनराज पाण्डे हुन भने पटकथा पौड्यालले स्वयं लेखेका हुन्। कथाकार चर्चित आख्यान ‘लु‘ र ‘उलार‘का लेखकसमेत हुन् । ‘मोटरसाइकलसँग हरेक नेपाली युवाको इच्छा जोडिएको हुन्छ । यो पाउन उसले संघर्ष गर्नुपर्छ । सवारी साधन मात्र नभएर मोटरसाइकलसँग भावना पनि जोडिएको हुन्छ’ निर्देशक लक्ष्मणले भने, ‘तराई तिर यसलाई भटभटे पनि भन्छन् । तराईमा बाइकलाई दाइँजोको रुपमा धेरैले चिन्छन् । यी सबै समेटेर कथा तयार भएको हो ।’
फिल्ममा खेम सेन्चुरी, प्रमोद खरेल, प्रशान्त शिवाकोटी, करणराज कार्कीको संगीत हुनेछ । अर्जुन तिवारी फिल्मका सिनेम्याटोग्राफर हुन् । यस्तै फिल्मको निर्मातामा व्यवसायी सुरेश कार्की र सदिच्छाआचार्य रहेका छन् भने फिल्मको बजेट ३–४करोड रुपैयाँ रहनेछ।
फागुन १८ सम्म शूटिङ गर्ने योजनासहित, चुनावको कारण एक हप्ता ब्रेक राखिने छ। फागुन २६ देखि पुनः शूटिङ सुरु हुनेछ।








५ फाल्गुन २०८२, मंगलवार १३:११ 










