काठमाडौं — चलचित्र रिलिज हुँदा प्रायः दुई किसिमको अपेक्षा गरिन्छ—बक्स अफिसमा सफलता वा दर्शक–समीक्षकको प्रशंसा। तर हालै प्रदर्शनमा आएको कुमारी ले भने प्रशंसा पायो, तर व्यावसायिक नतिजा भने अपेक्षित आएन। यही यथार्थलाई स्वीकार गर्दै निर्माता महेन्द्र अधिकारी अहिले आफ्ना निर्णय र सोचमाथि आत्मसमीक्षा गरिरहेका छन्।
यसअघि प्रकाश जस्तो सशक्त चलचित्र निर्माण गरेर छुट्टै पहिचान बनाएका अधिकारीका लागि ‘कुमारी’ को व्यापारिक असफलता एउटा महत्वपूर्ण पाठ बनेको छ। तर उनी यसलाई लुकाउने वा ढाकछोप गर्ने प्रयासमा छैनन्। बरु, एक परिपक्व व्यवसायीको रूपमा यसको निर्मम समीक्षा गर्न तयार देखिन्छन्।
“हरेक व्यवसाय नाफामूलक हुनुपर्छ,” उनी स्पष्ट भन्छन्। तर सधैं सोचेजस्तो नतिजा नआउने यथार्थलाई पनि उनी सहज रूपमा स्वीकार गर्छन्। उनका अनुसार यदि कुनै व्यवसायले अपेक्षित नाफा दिन सकेन भने त्यसका कारण पहिचान गरेर तुरुन्त समाधान खोजिनुपर्छ। “समस्यालाई हलुका रूपमा लियो भने त्यसले भविष्यमा अरू निर्मातालाई पनि लगानी गर्न हिच्किच्याउँछ,” उनी भन्छन्। तर उनी निराश भने छैनन्। व्यवसायमा नाफा र नोक्सानी दुवै सम्भावना रहने उनको बुझाइ छ र ‘कुमारी’ त्यसकै एउटा उदाहरण भएको उनी बताउँछन्।
एउटा चलचित्र असफल हुँदा निर्माताको मनोविज्ञान कस्तो हुन्छ ? अधिकारी भन्छन्, “व्यवसायले सोचेअनुसार व्यापार नगर्दा नकारात्मक असर त पर्छ नै।” तर यो असर आर्थिक मात्र होइन। उनका अनुसार चलचित्रसँग जोडिएका प्राविधिकदेखि कलाकारसम्म सबैको आशाको केन्द्र नै निर्माता हुन्छ। त्यसैले लगानी डुब्दा निर्मातामाथि चौतर्फी दबाब महसुस हुन्छ।
यद्यपि उनी विगतका कमजोरीमै अल्झिरहन चाहँदैनन्। “कमजोरी सच्याएर फेरि अर्को प्रोजेक्टमा जानु सकारात्मक कुरा हो,” भन्दै उनी आगामी दिनमा अझ सचेत भएर अघि बढ्ने बताउँछन्।
नेपाली चलचित्र बजारमा पछिल्लो समय ‘स्टार कास्ट’ बिना फिल्म चल्दैन भन्ने धारणा बलियो बन्दै गएको छ। ‘कुमारी’ को नतिजाले अब आफूलाई पनि स्टार कलाकारकै पछि लाग्न बाध्य बनाउँछ कि ? भन्ने प्रश्नमा उनी सहमत देखिँदैनन्। “सधैं एउटै फर्मुलाले एउटै नतिजा दिन्छ भन्ने हुँदैन,” उनी तर्क गर्छन्। उनका अनुसार कलाकार छनोट स्टारडमका आधारमा होइन, कथावस्तु र पात्रको मागअनुसार हुनुपर्छ। “कथाले न्याय माग्दा स्थापित कलाकार पनि हुन सक्छन्, नयाँ अनुहार पनि,” उनी भन्छन्।
बजारले उनलाई ‘आँटिला निर्माता’को रूपमा चिन्ने गरेको छ। तर उनी यसलाई आँटभन्दा पनि आफ्नो पेसाप्रतिको इमानदारिता र जिम्मेवारीका रूपमा बुझ्न चाहन्छन्। “चलचित्र निर्माण केवल लगानी होइन, यो रहर र जिम्मेवारी पनि हो,” उनी भन्छन्, “दर्शकलाई गुणस्तरीय सामग्री दिनु हाम्रो दायित्व हो। ‘प्रकाश’ र ‘कुमारी’ त्यसकै उदाहरण हुन्।”
अब उनी पुरानै फर्मुलामा फर्किने त ? उनको जवाफ दार्शनिक शैलीको छ—“मान्छेको चेतनाको स्तर जति छ, उसले त्यति नै गर्न सक्छ।” अग्रज सिनेकर्मीको अनुभव र आफ्नै भोगाइलाई आधार बनाएर आगामी दिनमा अझ परिपक्व योजना लिएर आउने तयारीमा रहेको उनी सुनाउँछन्।
‘कुमारी’ को व्यावसायिक असफलताले आफूलाई गलाएको होइन, अझ जिम्मेवार बनाएको उनी निष्कर्ष निकाल्छन्। “कुमारी केवल प्रेमकथा थिएन,” उनी भन्छन्, “यो समाजले अझै पूर्ण रूपमा स्वीकार गर्न नसकेको महिलाको संवेदनशीलता बोकेको तितो सत्य पनि थियो।”







७ फाल्गुन २०८२, बिहीबार १५:४५ 











