काठमाडौं । पर्यटकीय नगरी इलाम मा सिनेमा प्रेमीहरूका लागि खुसीको खबर थपिएको छ । धरान र बुटवलमा सफलतापूर्वक सञ्चालन हुँदै आएको फ्रेन्ड्स सिनेमाज ले इलाममा आफ्नो तेस्रो शाखा औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो ।
शुक्रबार इलाम नगरपालिका–७ मा अवस्थित नयाँ हलको उद्घाटन एक भव्य समारोहका बीच सम्पन्न भयो । उद्घाटन समारोहमा लोकप्रिय अभिनेता पल शाह ले रिबन काटेर हलको शुभारम्भ गरे । कार्यक्रममा चर्चित अभिनेत्री उषा उप्रेती तथा द्वन्द्व निर्देशक तथा निर्माता चन्द्र पन्त को समेत विशेष उपस्थिति रहेको थियो ।
आफ्ना प्रिय कलाकारलाई नजिकैबाट देख्न पाउँदा इलामेली दर्शकहरूको उत्साह हेर्नलायक देखिएको थियो । हल परिसरमा दर्शकको बाक्लो भीड र हुटिङका कारण उद्घाटन कार्यक्रम निकै उत्सवमय बनेको थियो ।
करिब तीन करोड पचास लाख रुपैयाँको लगानीमा निर्माण गरिएको यस सिनेमा हलमा एक सय अठासी सिट क्षमताको व्यवस्था गरिएको छ । नगरपालिकाको बहुउद्देश्यीय पार्किङ भवनमा सञ्चालनमा आएको यस हलमा अत्याधुनिक प्रविधि प्रयोग गरिएको फ्रेन्ड्स सिनेमाजका अध्यक्ष प्रदीप धामीले जानकारी दिए ।
उनका अनुसार हलमा टु–के प्रोजेक्सन प्रविधि तथा डल्बी ल्याबोरेटरीज को डिजिटल ध्वनि प्रणाली जडान गरिएको छ । यसले दर्शकलाई राजधानीका महँगा मल्टिप्लेक्स हलसरह गुणस्तरीय ध्वनि र दृश्य अनुभव प्रदान गर्ने विश्वास गरिएको छ ।
सञ्चालकहरू प्रदीप धामी, पुष्कर घिमिरे र आशिष तामाङले इलामका दर्शकलाई पारिवारिक तथा सुविधासम्पन्न वातावरणमा चलचित्र हेर्ने अवसर दिन उद्देश्यले यो हल सञ्चालनमा ल्याइएको बताएका छन् । अध्यक्ष धामीले भने, “हाम्रो लक्ष्य मोफसलका दर्शकलाई पनि राजधानीस्तरको सेवा उपलब्ध गराउनु हो । अब इलामका चलचित्र प्रेमीहरूले गुणस्तरीय सिनेमा हेर्न अन्य सहर जानुपर्ने बाध्यता हट्नेछ ।”
फ्रेन्ड्स सिनेमाज यसअघि धरान र बुटवल मा सफलतापूर्वक सञ्चालन हुँदै आएको छ । इलाममा नयाँ हल थपिएसँगै अब देशभर एकैसाथ प्रदर्शनमा आउने नयाँ नेपाली चलचित्रहरू इलाममै पनि हेर्न पाइने भएको छ ।
इलाममा स्तरीय सिनेमा हलको अभाव खड्किरहेका बेला फ्रेन्ड्स सिनेमाजको आगमनले स्थानीय मनोरञ्जन क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । यसले स्थानीय बासिन्दासँगै इलाम घुम्न आउने पर्यटकका लागि पनि मनोरञ्जनको आकर्षक गन्तव्य थपिने विश्वास गरिएको छ ।
फ्रेन्ड्स सिनेमाजका निर्देशक आशिष एच. तामाङका अनुसार आगामी दिनमा सम्भव भएसम्म अन्य जिल्लाहरूमा पनि साना–साना सिनेमा हल विस्तार गर्ने योजना रहेको छ । उनका भनाइमा, नेपाली चलचित्रको बजार विस्तार गर्नका लागि सबैभन्दा पहिले घरेलु बजारलाई नै बलियो बनाउनु आवश्यक छ । “जिल्ला–जिल्लामा सिनेमा हल विस्तार गर्न सकियो भने अहिलेको अवस्थामै घरेलु बजार दोब्बरभन्दा बढी वृद्धि हुन सक्छ,” तामाङले बताए ।







८ फाल्गुन २०८२, शुक्रबार १३:२४ 











