काठमाडौं – फागुन २९ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र लालिमा को दोस्रो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार सार्वजनिक गरेको पोस्टरमा फिल्मकी शीर्ष नायिका रोशनी कार्कीलाई एकल रूपमा फिचर्ड गरिएको छ।
निर्देशक तथा लेखक रोशन मिराजका अनुसार, पहिलो फस्ट–लुक पोस्टरले दर्शकमाझ उत्सुकता बढाएकाले त्यसैको निरन्तरतास्वरूप दोस्रो पोस्टर सार्वजनिक गरिएको हो।
नयाँ पोस्टरमा समस्यामा जेलिएकी रोशनीलाई आत्मविश्वासी, सहनशील र शान्त भावमा प्रस्तुत गरिएको छ। माथिल्लो शरीरमा कपडा नलगाएकी उनी झ्यालबाट कोठाभित्र पस्ने प्रकाशमा देखिन्छिन्। पीडापछिको शान्त मुद्रामा देखिएकी उनको प्रस्तुतिले फिल्ममा उनी यौनकर्मीको चरित्रमा रहेको संकेत पनि गर्छ।
पोस्टरबारे निर्देशक मिराज भन्छन्, “पहिलो पोस्टरले असहायता र रहस्यलाई केन्द्रमा राखेको थियो। नयाँ पोस्टरले शक्ति, आत्मविश्वास, सहनशीलता र परिवर्तनको संकेत दिन्छ। पोस्टरमा शीर्षक लेख्न रातो रङ प्रयोग गरिएको छ र नाटकीय सिनेम्याटिक प्रकाश देख्न सकिन्छ। यसले यो केवल डरको कथा मात्र होइन, जागरण र आत्मबलको कथा पनि हो भन्ने सन्देश दिन्छ।”
फिल्ममा रोशनीसँगै नायकका रूपमा जीवन भट्टराई रहेका छन्। उनीहरूसँगै उषा रजक, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन्।
निर्माण पक्षका अनुसार, करिब तीन हजार यौनकर्मीका अनुभव, संघर्ष र भोगाइलाई आधार मानेर यो चलचित्र तयार गरिएको हो। फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन्।
हालको प्रदर्शन तालिकाअनुसार प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो प्रदर्शन मिति फागुन २९ मा हलमा लाग्ने एक मात्र नेपाली चलचित्र लालिमा रहेको निर्माण पक्षको दाबी छ। चलचित्रको वितरण नेसनल सिने ग्रुप नेपालले गर्दैछ।







९ फाल्गुन २०८२, शनिबार १३:०९ 











