काठमाडौँ । ब्युटिपार्लर सञ्चालन गर्दै आएका तथा ब्युटिसियन पेशामा आबद्ध व्यक्तिहरूले ‘सौन्दर्य उद्यमी संघ नेपाल’ गठन गरेका छन्। शनिबार बेलुका काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच संघका नवगठित पदाधिकारीहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन्।
नव–निर्वाचित कार्यसमितिमा अध्यक्षमा बरिष्ट ब्युटिसियन एवम् रोज ब्युटी एकेडेमीकी अध्यक्ष सुन्दरी कारँजीत (सोनी), उपाध्यक्षमा मनिषा जी.सी. र करुणा श्रेष्ठ, सचिवमा स्वेता मगर श्रेष्ठ र मनिषा श्रेष्ठ, कोषाध्यक्षमा सिर्जना श्रेष्ठ र निलकमल प्रधान रहेका छन् । यस्तै संघको केन्द्रिय कार्यसमिति सदस्यहरूमा ललिता जोशी श्रेष्ठ, निशा थापा, स्मृति सुब्बा (इसू), प्रबिन कला राई, निशा रजक, रवीना तामाङ र शान्ता कार्की चयन भएका छन्।
सपथ ग्रहणसँगै नव–निर्वाचित कार्यसमितिले आगामी दिनमा सीप विकास तालिम, व्यवसायिक दक्षता अभिवृद्धि, महिला सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
समारोहमा प्रमुख अतिथि तथा वरिष्ठ चरित्र अभिनेत्री बसुन्धरा भुसालले नवगठित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिन्। सौन्दर्य व्यवसायलाई व्यवस्थित, मर्यादित र व्यवसायिक बनाउने दिशामा संघले महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरिन् । आफ्नो पेशामा उत्कृष्ट सिप भएका अग्रज ब्युटिसियनहरुले खेलेको यो संघ दीर्घाकालिन रुपमा अघि बढ्ने विश्वास उनले ब्यक्त गरिन् । बरिष्ट अभिनेत्री बसुन्धराले महिला उद्यमशीलता र आत्मनिर्भरता प्रवद्र्धनमा संघको योगदान उल्लेखनीय रहने धारणा राखिन्।
कार्यक्रममा संघकी नव अध्यक्ष तथा अग्रज सौन्दर्यविद् सुन्दरी कारनजीत (सोनी) ले संघ गठनको उद्देश्य स्पष्ट पार्दै देशभर छरिएका सौन्दर्य उद्यमीहरूलाई एकताबद्ध गर्ने, उनीहरूको हक–हित संरक्षण गर्ने तथा सीप विकास र व्यवसायिक सुरक्षामा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डअनुसार तालिम सञ्चालन गरी नेपाली सौन्दर्य क्षेत्रलाई थप सुदृढ बनाइने उनको भनाइ थियो।
उक्त समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्व, सदस्य तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघको आगामी यात्रामा सहकार्य र समर्थन रहने विश्वास व्यक्त गरेका थिए ।







१० फाल्गुन २०८२, आईतवार १७:५३ 











